रोशन जनकपुरी
माघ १५ । क्रान्तिकारी पत्रकार संघको स्थापना दिवस। माओवादी जनयुद्धको क्रममा ०६१ पौषमा रोल्पाको इरिबाङमा बसेको नेकपा (माओवादी)को पी.बी बैठकमा जनयुद्धमा सम्मिलित पत्रकारहरुको संगठन निर्माण गर्ने प्रस्ताव पारित भयो।
यसपछि ०६१ माघ १५ गते रोल्पाको लाबाङमा बसेको पार्टीको पी. बी बैठकमा महेश्वर दाहालको नेतृत्वमा एक जना पछि थप्ने गरी एक्काइस सदस्यीय केन्द्रीय समिति गठन गरिएको थियो। यसमा महेश्वर दाहाल संयोजक हुनुहुन्थ्यो भने सदस्यहरुमा गोविन्द आचार्य, हीरामणि दुखी, ओम शर्मा, सचिन रोका, खिला भण्डारी, विष्णु सापकोटा, चन्द्रमान श्रेष्ठ, दीपक रोकाया, मनऋषि धिताल, संगीता खड्का, दीपक मैनाली, दीपक सापकोटा, निमबहादुर बुढा, चेतन कुँवर, अरुणा रायमाझी, अर्पणा बिसुराल, रुपा महर्जन, कुमार शाह, रोशन जनकपुरी थिए।
क्रान्तिकारी पत्रकार संघ गठनको उद्देश्य जनयुद्ध र माओवादी क्रान्तिकारीहरु बारे तत्कालीन सरकारले फैलाउने दुष्प्रचारको खण्डन, जनयुद्धको क्रान्तिकारी उद्देश्य र गतिविधि बारे जनतालाई सही जानकारी गराउनु थियो। अनेक जोखिम मोलेर क्रान्तिकारी पत्रकारहरुको त्यो समय गौरवपूर्ण थियो। त्यतिबेला म माओवादी द्वारा संचालित रेडियो जनगणतन्त्र नेपालको मध्य क्षेत्र (उपत्यका विशेष क्षेत्र)को इन्चार्ज थिएँ। ती दिनहरु साँच्चै क्रान्तिकारी ऊर्जाले भरिएका महान दिनहरु थिए।
अहिले माओवादी विभिन्न कित्तामा विभाजित छ। सबैका आ आफ्ना पत्रकार संगठनहरु छन्। प्रेस सेन्टर, क्रान्तिकारी पत्रकार महासंघ, आदि। ती सबै क्रान्तिकारी पत्रकार संघबाट नै जन्मेका हुन्। यद्यपि माओवादी आन्दोलन र क्रान्तिकारी पत्रकार संघले जुन उद्देश्य र जुन वर्ग सर्वहारा श्रमिक, मजदुर, किसान, गरिब र उत्पीडित समुदायको हितको निम्ति संघर्ष गर्यो, ती अहिले पनि उपेक्षित नै छन्। क्रान्तिकारी पत्रकार संघ, एउटा मिसन थियो। समय संगै माओवादी क्रान्तिकारीहरु चुनाव प्रधान र पत्रकारहरु जनहितको मिसन भन्दा बढी निजी पेशागत भएका छन्।
क्रान्तिकारी पत्रकार संघको इतिहाससँग जोडिएका सबै पत्रकार संगठनहरुले माघ १५ लाई स्थापना दिवसको रूपमा मनाउँछन्।
सबैलाई क्रान्तिकारी शुभकामना। Source: facebook