सहिद प्रभुनारायण यादवप्रति राजविराज र तोपामा श्रद्धाञ्जली,

राजविराज, १६ माघ । सहिद दिवसको अवसर पारेर सप्तरीको राजविराज र तोपा स्थित कर्मचारी सहिद प्रभुनारायण यादवको शालिकमा शुक्रबार माल्यार्पण गरिएको छ ।

राजविराज स्थित जिल्ला समन्वय समिति प्राङ्गण र तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ८, तोपा स्थित स्व. यादवको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको हो । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, केन्द्रीय नेता एवम् जनता समाजवादी पार्टीका नेता एवम् पूर्व मन्त्री उमेश कुमार यादव, मधेश प्रदेशका अर्थमन्त्री महेश प्रसाद यादव, जिल्ला समन्वय समितिका संयोजक शिवनारायण साह, समितिका निवर्तमान संयोजक प्रभाकर यादव, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, जसपा नेपालका जिल्ला सचिव निरज मुक्ति, प्रस्तावित ट्रष्टका अध्यक्ष अबधेश कुमार झा, नेपाल निजामती कर्मचारी ट्रेड युनियनका जिल्ला अध्यक्ष अजय कुमार झा, कर्मचारी, राजनीतिकर्मी, नागरिक समाज, सञ्चारकर्मी समेतले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

कार्यक्रममा बोल्दै जसपा नेता एवम् पूर्वमन्त्री उमेश कुमार यादवले मधेशका सहिदहरुमाथि अपमान एवम् विभेद भएको आरोप लगाए । सहिदहरु दुर्गानन्द झा, शाकेत मिश्र, दिलिप चौधरी लगायतका सहिदहरुलाई राज्यले समुचित सम्मान दिन नसकेकोमा उनले आक्रोश व्यक्त गरे । तत्कालीन सशस्त्र द्वन्द्वका कार्यक्रम राष्ट्रसेवक कर्मचारी प्रभुनारायण यादवको सहादत तथा विकट अवस्थामा पुर्याएको योगदानको उनले चर्चा गरे ।

तत्कालिन जिल्ला विकास समिति सप्तरीमा नायव सुब्बा पदमा कार्यरत यादव कार्यालयको काम सकाएर मोटरसाइकलबाट घर फर्किने क्रममा २०६४ कार्तिक १२ गते अज्ञात समूहले गोली प्रहार गरेका थिए । खाँडो नदीको पूवी छेउको सडकमा उनको तत्कालै मृत्यू भएको थियो ।

माल्यार्पण तथा श्रद्धाञ्जली कार्यक्रममा सहभागिता जनाउने अतिथि एवम् सहभागीहरुलाई सहिदपुत्र राधेश्याम यादवले धन्यवाद् ज्ञापन गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस