राजविराज, २७ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रिय सचिव शैलेन्द्र प्रसाद साहले बालेन्द्र साहद्वारा मधेशका गौरव गजेन्द्रनारायण सिंहको शालिकमा फालिनुले मधेश र मधेशी जनताको अपमान गरेको बताएका छन् ।
सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ३, नर्घो गाउँमा मङ्गलबार आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले बालेन्द्रको शैलीलाई स्टन्टको संज्ञा दिएका छन् । चुनावी ‘रोड शो’का क्रममा मङ्गलबार राजविराज आइपुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्रले ‘गजेन्द्रचौकमा रहेको शालिकमा सम्मान दिनुको साटो स्टन्ट गर्दै माला फाल्नु मधेश र मधेशी जनताको अपमान हो ।’
स्टन्टले देश नचल्ने टिप्पणी गर्दै उनले भने ‘ऊ बालेन्द्र शाह हो भने म पनि शैलेन्द्र साह हुँ, मैले उसको के योगदान छ ? मैले २५ वर्षदेखि आन्दोलनका क्रममा देश र मधेशी जनतालागि जेल–नेल भोगेको छु ।’ मधेशी जनताको हक हितका लागि कुनै पनि पार्टीले आवाजसम्म नउठाएको चर्चा गर्दै तत्कालिन मधेशी जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी नेपालले कठोर सङ्घर्ष गरेर मधेशी जनताको अधिकार र पहिचान स्थापित भएको पूर्वमन्त्री साहले बताए ।
रास्वपाका अध्यक्ष रवि लामिछाने नै हज्जारौं गरिब जनताले जम्मा गरेको अर्बौं रुपैयाँ सहकारीमा ठगी गरेको आरोप लगाए । भ्रष्ट र ठगी प्रकरणमा मुछिएका व्यक्ति सुशासन र परिवर्तनको कुरा गरिरहेकोप्रति टिप्पणी गर्दै नेता साहले अधिकार र विकासका लागि जसपा नेपालका उम्मेदवारलाई भारी मतले जिताउन आग्रह गरे ।