काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले जनताबाट प्राप्त मतादेशलाई “कर्जा” का रूपमा लिँदै त्यसलाई पूर्ण रूपमा चुकाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिनिधिसभाको पहिलो अधिवेशनको उद्घाटन बैठकमा दलीय आधारमा बोल्दै उनले जनताले आफूहरूलाई केवल सिंहदरबार चलाउन नभई त्यहाँ परिवर्तन ल्याउन मत दिएको स्पष्ट पारे। उनले संसद् बहस, नीति निर्माण र समाधान खोज्ने थलो हुने बताए।
“यो संसद् बहसको थलो हुनेछ, प्रतिशोधको होइन,” उनले भने, “प्रतिपक्षमाथि अन्यायपूर्ण व्यवहार हुने छैन, तर सुशासनको गति पनि रोकिने छैन।” उनले पार्टीका सबै सांसदलाई कामबाटै आफूलाई प्रमाणित गर्न आग्रह गर्दै परिणाममुखी राजनीति आवश्यक रहेको बताए।
सभापति लामिछानेले निजी क्षेत्रमाथि बिचौलिया र माफियाको दबाब अन्त्य गरिने प्रतिबद्धता जनाए। उनले समान अवसर, पारदर्शिता र व्यवसायमैत्री वातावरण निर्माण गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गरे। जातीय तथा लैङ्गिक आधारमा कुनै पनि विभेद नहुने भन्दै ज्येष्ठ नागरिकको सम्मान तथा बालबालिकाको शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिइने बताए।
राजनीतिक नियुक्तिको विषयमा उनले विगतमा नियुक्त भएकाहरूलाई स्वेच्छिक रूपमा मार्गप्रशस्त गर्न आग्रह गर्दै आगामी नियुक्तिमा योग्यता र विधिको आधार अनिवार्य गरिने स्पष्ट पारे।
त्यस्तै, गैरआवासीय नेपालीको पूँजी, सीप र अनुभवलाई देशको आर्थिक विकासमा उपयोग गरिने उनले बताए। मित्रवत्, सन्तुलित र पारदर्शी परराष्ट्र नीति अवलम्बन गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।