चन्द्रकिशोर
सम्माननीय राष्ट्रपतिज्यूबाट राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा “वरिष्ठ पत्रकार सम्मान” ग्रहण गरिरहँदा म स्वयंलाई अत्यन्त विनम्र अनुभव गरिरहेको छु। यस सम्मानका लागि छनोट समितिप्रति हार्दिक आभार व्यक्त गर्दछु।
म एक पत्रकार मात्र होइन, भुइँमान्छेको कथावाचक हुँ। म भुइँमान्छेको कुरा लेख्छु। म भुइँमान्छेका लागि लेख्छु। र भुइँमान्छेको पत्रकारका रूपमा चिनिनु मेरो केवल पहिचान होइन, मेरो epistemic position हो — मेरो ज्ञानको आधार, मेरो दृष्टिकोण। किनकि प्रश्न केवल “को बोल्छ?” भन्ने होइन, “को सुन्ने स्थितिमा छ?” भन्ने पनि हो।
यो सम्मान मेरा लागि शिखर होइन। यो त एक स्मरण हो — स्मरण कि पत्रकारिता माथिबाट तल हेर्ने दृष्टि होइन, तलबाट माथि प्रश्न गर्ने साहस हो।
देहात संवाद गरिरहँदा एक वृद्धले मलाई भन्नुभएको थियो, “हामीलाई कसैले सुन्दैन, तपाईंले लेखिदिनुभयो भने पुग्छ।” त्यो वाक्य मेरो लागि पुरस्कारभन्दा ठूलो जिम्मेवारी बन्यो। आज म त्यही जिम्मेवारी बोकेर यहाँ उभिएको छु।
आजको समयमा सूचना धेरै छ, तर संवेदना कम हुँदै गएको छ। Narrative बलियो हुँदै गएको छ, तर सत्य कमजोर पारिँदै छ। यस्तो समयमा पत्रकारको काम केवल खबर दिनु होइन — भुइँमान्छेको आवाजलाई हराउन नदिनु हो।
हामी यस्तो समयमा छौँ, जहाँ शक्ति केवल शासनमा सीमित छैन। शक्ति अब ज्ञान उत्पादनमा पनि छ। कुन कुरा “सत्य” हो भन्ने अधिकार अक्सर सत्तासँग हुन्छ। त्यसैले आजको पत्रकारिता केवल सूचना संकलन होइन, सत्य निर्माण प्रक्रियासँगको संघर्ष पनि हो।
यदि पत्रकारले व्याख्या गर्न छोड्यो भने सत्ता एक्लैले कथा लेख्छ। लोकतन्त्र तब मात्र सार्थक हुन्छ, जब सबैभन्दा कमजोरको आवाज सबैभन्दा शक्तिशाली कथाभन्दा बलियो हुन्छ।
लोकतन्त्रको मूल्य संविधानमा होइन, भुइँमान्छेको जीवनमा मापन हुन्छ। यदि उनी सुरक्षित छन् भने लोकतन्त्र जीवित छ। यदि उनी सम्मानित छन् भने लोकतन्त्र अर्थपूर्ण छ। यदि उनी सपना देख्न सक्छन् भने लोकतन्त्र भविष्यतर्फ उन्मुख छ। तर यदि उनी डराउँछन्, यदि उनी चुप छन्, यदि उनी केवल तथ्यका विषय हुन् — त्यस बेला लोकतन्त्र एउटा भ्रम मात्र हो।
लोकतन्त्र तब मात्र साँचो हुन्छ, जब सबैभन्दा कमजोर मानिस सबैभन्दा निर्भय भएर बाँच्न सक्छ।
लोकतन्त्रको संकट त्यहाँ सुरु हुन्छ, जहाँ प्रतिनिधित्व हुन्छ तर आवाज हुँदैन; जहाँ समावेशिता देखाइन्छ तर अनुभूति गरिँदैन; जहाँ नागरिक “डेटा” बन्छ, तर “मान्छे” रहँदैन।
यो पुरस्कार मेरो लागि केवल सम्मान मात्र होइन, एक असहज सम्झना पनि हो। त्यो सम्झना कि पत्रकारिताको वास्तविक काम सत्तासँग उभिनु होइन, त्यसको अगाडि खडा हुनु हो। र यो पनि कि हरेक सम्मानसँग एउटा जोखिम लुकेको हुन्छ — सुविधाको जोखिम, सम्झौताको जोखिम, र मौन हुने जोखिम।
म यो पुरस्कार स्वीकार गर्दै सरकारप्रति आभार व्यक्त गर्छु। तर म स्पष्ट भन्न चाहन्छु — पत्रकारिता दरबारी भूमिका होइन। यो प्रश्न सोध्ने कला हो, र धेरै पटक असहज प्रश्न सोध्ने अडान पनि। सम्मान पाउनु सुखद हो, तर प्रश्न सोधिरहनु त्योभन्दा धेरै आवश्यक छ।
मलाई थाहा छ, यो बाटो सजिलो छैन। सत्ता सधैँ प्रश्न मन पराउँदैन। तर यदि पत्रकार सहज भयो भने लोकतन्त्र असहज हुन्छ। यदि पत्रकार चुप भयो भने नागरिक अदृश्य हुन्छ।
सम्मानले मलाई खुसी बनाउँछ, तर जिम्मेवारीले मलाई सतर्क बनाउँछ।
वरिष्ठ पत्रकार चन्द्रकिशोरको फेसबुक वालबाट साभार ।