राजविराज–मिलेमतोमा रुपनी बजारको सार्वजनिक जग्गा किनबेच गराएको आरोप लागेका सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवको अर्को ‘काण्ड’ बाहिरिएको छ । ‘मधेशलाइभ’लाई प्राप्त ‘कल रेकर्ड’अनुसार यादवले ‘कमिसन’का लागि स्थानीय ठेकेदार राहुल साहलाई धम्क्याएका हुन् ।
मैथिली भाषामा भएको फोन सम्वादमा यादवले भनेका छन्, ‘राहुल, अबदेखि गाउँपालिका आउँदैनस् नि !’ साहले के भयो र ? भन्दै सोध्दा यादवले थपेका छन्, ‘पैसा उठाएर तिमीहरु बाँडिहाल्यौ ।’ ठेकेदार साहले आजै भुक्तानी पाएको र सरोजलाई बुझाइसकेको फोनमा बताएका छन् ।
अध्यक्ष यादवले पुनः थपेका छन, ‘के रे ! तिमी कहाँ छौं अनि मसँग भेटघाटै गरेनौं त ।’ त्यसपछि साहले आजै सरोजलाई लिएर त्यहाँ आउने भन्दै सम्वाद टुंग्याएका छन् । सम्वादको विषयमा बुझ्दै जाँदा पटक–पटक नाम उल्लेख भएको ‘सरोज’ वडा नम्बर २ का अध्यक्ष सरोजकुमार यादव रहेको पुष्टि हुन आयो ।
राहुल पनि सोही वडाका वासिन्दा हुन् । वडाध्यक्ष यादवले ‘कमिसन’ को विषयमा आफुलाई जानकारी नभएको बताए । ‘तर, राहुलज्यूसँग मेरो अरुपनि कारोबार छ’ उनले भने, ‘कमिसनको विषयमा मलाई जानकारी छैन् ।’
सम्वादको थप पुष्टि गर्न हामीले पालिका अध्यक्ष यादवलाई सोध्यौं । उनले सम्वाद आफ्नै रहेको बताए पनि राहुललाई उधारो सामान दिलाइदिएको विषयमा कुराकानी भएको प्रतिक्रिया दिए । ‘राहुल यही पालिकामा काम गरिरहँदा मैले बजारबाट उधारोमा निर्माण सामग्री दिलाइदिएको छु’ उनले भने, ‘त्यसको पैसा तिरिदिनका लागि मैले सम्वादमा भनेको छु । कमिसनको कुरा होइन ।’
राहुल भने अध्यक्ष यादवसँग निजी कारोबारको विषयमा कुराकानी भएको बताए । तर, सार्वजनिक पद धारण गरेका व्यक्तिले धम्क्याउने शैलीको बोलेको विषय के हो भनी प्रश्न गर्दा राहुलले भने, ‘अध्यक्षज्यूले वडाध्यक्ष सरोजज्यूलाई भनेर सहयोग गराइदिनुभएको थियो ।’
अध्यक्ष यादवको विवादीत फोन सम्वाद बाहिरिएको यो पहिलो घटना होइन् । यसअघि पनि एक जना ‘सञ्चारकर्मी’सँग विज्ञापन दिएवापत ‘कमिसन’ मागेको सम्वाद बाहिरिएको थियो ।
केही दिनअघि मात्रै २०३३ सालदेखि रोक्का रहेको तत्कालीन नकटी रायपुर गाउँ विकास समिति–८(ख) को १६९५ कित्ताको १ विघा साढे ४ धुर जग्गा किनबेच गर्न पालिका अध्यक्ष यादवले उच्च अदालत जनकपुर, राजविराज इजलासमा पेस गरेको प्रमाण र बयानविपरित फुकुवा गराएको विषय सार्वजनिक भएको थियो ।
तीमध्ये अधिकांश जग्गा वडा नम्बर १ की अध्यक्ष लिला यादवका श्रीमान् पिताम्बर यादवको नाममा पास भएको छ भने हाल त्यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिएको छ ।