जयप्रकाश आनन्द
नेपालको राजनीतिमा आज एउटा खतरनाक प्रवृत्ति तीव्र रूपमा हावी छ— चरम निराशालाई राजनीतिक पूँजीमा रूपान्तरण गर्ने प्रवृत्ति। “देशमा केही भएन”, “सबै दल असफल भए”, “लोकतन्त्रले केवल लुटतन्त्र जन्मायो” भन्ने भाष्य अहिले केवल सामाजिक सञ्जालको भावनात्मक प्रतिक्रिया मात्र होइन; यो सुनियोजित रूपमा निर्माण गरिएको राजनीतिक आख्यान हो। दुर्भाग्यवश, यही आख्यानले विगत केही वर्षमा सत्ता गुमाएका राजावादी शक्तिदेखि लिएर आफूलाई ‘नयाँ’ भनेर प्रस्तुत गर्ने शक्तिहरूलाई समेत जनसमर्थन बटुल्ने सहज आधार दिएको छ।
यो भाष्यको सबैभन्दा ठूलो समस्या के हो भने यसले तथ्यलाई होइन, भावनालाई राजनीतिक सत्यको रूपमा स्थापित गर्छ। जनता असन्तुष्ट छन्, यो यथार्थ हो। तर असन्तुष्टिको नाममा देशले पछिल्लो दशकहरूमा हासिल गरेका उपलब्धिलाई पूर्ण रूपमा नकार्नु सत्यको अवज्ञा हो।
यही सन्दर्भमा हालै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक स्थितिपत्र विशेष महत्व राख्छ। यसले “देशमा केही भएन” भन्ने प्रचलित न्यारेटिभलाई सीधै चुनौती दिने तथ्य प्रस्तुत गरेको छ।
बि.स. २०७२ सालको विनाशकारी भूकम्प, त्यसपछिको नाकाबन्दी, राजनीतिक अस्थिरता, महामारी र वैश्विक आर्थिक दबाबका बीच पनि नेपालको अर्थतन्त्र २६ खर्ब ८ अर्ब रुपैयाँबाट बढेर ६१ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ। प्रतिव्यक्ति आय ८९९ अमेरिकी डलरबाट १,५१७ डलर पुगेको छ। विद्युत् उत्पादन क्षमता ६९७ मेगावाटबाट ४,१०५ मेगावाट पुगेको छ। विद्युत् पहुँच ९९ प्रतिशत जनसंख्या सम्म विस्तार भएको छ। कालोपत्रे सडक ११,७९८ किलोमिटरबाट २०,२०२ किलोमिटर पुगेको छ। तथ्यांकक यो सूचि लामो छ। मुख्यतः साक्षरता, मातृ मृत्युदर, शिशु मृत्युदर र गरिबीका सूचकहरूमा पनि उल्लेखनीय सुधार देखिन्छ। यी तथ्यांकहरूले स्पष्ट भन्छन्— देश ठप्प थिएन। राज्य चलिरहेको थियो। विकास भइरहेको थियो।
तर यहींनेर एउटा कठोर राजनीतिक प्रश्न उठ्छः यदि यति धेरै भएको थियो भने जनतामा “केही भएन” भन्ने भावना यति बलियो किन बन्यो ? यसको उत्तर तथ्यांकमा होइन, शासनको चरित्रमा छ।
समस्या उपलब्धिको अभावभन्दा धेरै सुशासनको विफलता हो। मूलधारका दलहरूले राज्य निर्माण, पूर्वाधार विस्तार, संघीय संरचना, ऊर्जा, शिक्षा र स्वास्थ्यमा महत्वपूर्ण उपलब्धि हासिल गरे। तर ती उपलब्धि जनताको दैनिक जीवनमा न्याय, पारदर्शिता र भरोसाको अनुभूति मा रूपान्तरण गर्न सकेनन्।
जब जनताले सडक बनेको देख्छन् तर ठेक्कामा भ्रष्टाचार पनि देख्छन्; बिजुली आएको देख्छन् तर बेरोजगारी बढेको महसुस गर्छन्; जिडिपी बढेको सुन्छन् तर घरको आम्दानी र अवसर स्थिर देख्छन्— तब तथ्यांकभन्दा अनुभूति शक्तिशाली हुन्छ। राजनीति अन्ततः अनुभूतिले जित्छ, एक्सेल शीटले होइन। जब जनता कुशासनका ती अन्तर्यहरू हेरें, उनले भन्न थाले बिकास हेर—बेथिति हैन्। जनताले सडकमा पनि मानेनन्, मतदानमा पनि मानेनन्।
यही कमजोरीलाई वैकल्पिक शक्तिहरूले चतुर रूपमा प्रयोग गरे। पूर्वराजावादी शक्तिहरूले लोकतान्त्रिक उपलब्धिलाई असफलताको रूपमा चित्रित गर्दै विगतको व्यवस्थालाई पुनः वैधता दिन खोजे। अर्कोतर्फ, नयाँ शक्तिहरूले विगतका सबै दलहरूलाई एउटै ब्रशले रंग्याएर “सबै असफल” भन्ने सरल तर लोकप्रिय निष्कर्ष बेच्न सफल भए।
यो लोकतन्त्रका लागि खतरनाक मोड हो। हुनसक्छ, भोलीका दिनहरूमा पनि यसको पुनरावृति होस्। अनि निरन्तर रहने यस्तो स्थिति भविष्यमा अझ् भयावह हुन जान्छ। किनकि जब सम्पूर्ण संस्थागत राजनीति एकैचोटि अविश्वसनीय घोषित गरिन्छ, त्यसले सुधार होइन, संस्थागत रिक्तता जन्माउँछ। रिक्तता सधैं लोकतान्त्रिक शक्तिले भर्दैन; प्रायः त्यसलाई चरमपन्थ, व्यक्तिवाद, प्रतिगामी राजावादी वा प्रतिक्रियावादी शक्तिहरूले भरिदिन्छन्।
तर यस संकटमा दोष केवल निराशाको भाष्य निर्माण गर्ने शक्तिहरूको मात्र छैन। मूलधार दलहरू स्वयं पनि गम्भीर रूपमा जिम्मेवार छन्। उनीहरूले आफ्ना उपलब्धिको राजनीतिक भाषा निर्माण गर्न सकेनन्। अझ गम्भीर कुरा, कुशासन, गुटवाद, संरक्षणवाद, भ्रष्टाचार र जनअपेक्षाप्रति उदासीनता ले आफ्नै उपलब्धिलाई आफैंले कमजोर बनाए। आज एक प्रश्न उठि रहेको छ—भ्रष्टाचारको खिलाफमा अहिले शुरू भएको कारवाही हिजोका दिनमा किन भएन? स्पष्ट छ, सत्ताले तेसको प्रतिरक्षा गर्यो।
वास्तविकता के हो भने नेपालले पछिल्लो तीन दशकमा ऐतिहासिक फड्को मारेको छ। तर त्यही अवधिमा राजनीतिक दलहरूले शासनको नैतिक वैधता भने गुमाउँदै लगे। यही नै आजको संकटको केन्द्रबिन्दु हो।देशमा केही भएन भन्ने न्यारेटिभ तथ्यगत रूपमा गलत छ। तर जनताले केही पाएनन् भन्ने अनुभूति राजनीतिक रूपमा वास्तविक छ। यसैले आजको बहस उपलब्धि बनाम असफलताको सरलीकृत बहस होइन। मूल प्रश्न हो— उपलब्धि किन जनविश्वासमा रूपान्तरण हुन सकेन ?
जबसम्म मूलधार दलहरूले यस प्रश्नको इमानदार उत्तर खोज्दैनन्, हुनसक्छ उनीहरू इतिहासमा योगदान दिएका शक्तिका रूपमा मात्र स्मरण गरिनेछन्; भविष्य निर्माण गर्ने शक्ति बन्ने छैनन्। आज आवश्यक कुरा न त अन्धनिराशा हो, न अन्धआत्मप्रशंसा। आवश्यक छ— तथ्यमा आधारित आत्मालोचना, सुशासनप्रति कठोर प्रतिबद्धता, र लोकतान्त्रिक उपलब्धिको विश्वसनीय पुनर्प्रस्तुति। नत्र, उपलब्धिको तथ्यांक पुस्तकमा मात्र बाँकी रहनेछ, र राजनीतिमा निराशाको व्यापार अझ बलियो हुँदै जानेछ।
लेखक जयप्रकाश आनन्द वरिष्ठ राजनीतिज्ञ हुन् । वौद्धिक नेताका रुपमा परिचित उनी राजनीतिक तथा समसामयिक विषयमा कलम चलाउँछन् । सं.