जयप्रकाश आनन्द

रामजनम तिवारी नेपालको मधेसी अधिकार आन्दोलनका आरम्भिक र मौलिक चिन्तकहरूमध्ये एक थिए। उहाँ नेपाल सद्भावना परिषद् तथा पछि बनेको नेपाल सद्भावना पार्टीका संस्थापक नेतामध्ये गनिनुहुन्छ। तर विडम्बना के छ भने, उहाँको परिचय प्रायः यही सीमित वाक्यभित्र कैद गरियो। उहाँको योगदानमाथि गहिरो अध्ययन गर्ने, उहाँको राजनीतिक दृष्टि र ऐतिहासिक भूमिकालाई पुनः मूल्यांकन गर्ने प्रयास भने कहिल्यै पर्याप्त रूपमा भएन।
सद्भावना पार्टीको राजनीति सधैं विभाजन, विवाद र आपसी अविश्वासले गाँजिएको पृष्ठभूमिबाट गुज्रियो। त्यसैले त्यही धारबाट आएका धेरै मानिसहरू पनि रामजनम तिवारीप्रति सहज देखिएनन्। उनीहरूको आरोप थियो—तिवारीले गजेन्द्र नारायण सिंहलाई नेता मानेनन्, पार्टी विभाजन गरे, “सद्भावना तिवारी” बनाए। अर्कोतर्फ, आफूलाई राष्ट्रको मूलधार ठान्ने काँग्रेस र कम्युनिष्ट धारले पनि उहाँलाई गम्भीरतापूर्वक बुझ्न चाहेन। पछिल्ला मधेस आन्दोलनका नेताहरूले त झन् पुराना संघर्ष र पुराना योगदानहरूलाई लगभग विस्मृतिमै पुर्याए। यही कारणले रामजनम तिवारीको समुचित ऐतिहासिक मूल्यांकन हुन सकेन।
तर यति हुँदाहुँदै पनि, वीरगञ्जको घण्टाघर चौकमा उभिएको उहाँको सालिक भावी पुस्तालाई एउटा मौन प्रश्न गरिरहेझैं लाग्छ—“प्रजातन्त्र र अधिकारको सम्बन्ध के हो?”
वि.सं. २०१७ मा निर्वाचित प्रधानमन्त्री बी.पी. कोइराला जेल पर्नुभयो। राजा महेन्द्र को सैनिक ‘कू’ पछि नेपाली काँग्रेसको नेतृत्व प्रवासमा केन्द्रित भयो र जिम्मेवारी सुवर्ण शम्शेर ले सम्हाल्नुभयो। संसदीय प्रजातन्त्र पुनःस्थापनाका लागि नेपाली काँग्रेसले सशस्त्र प्रतिरोधको बाटो रोज्दै सबै राजनीतिक शक्तिलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेको थियो।
त्यस समय नेपाली काँग्रेसका नेता बासुदेव रिसाल सँग मेरो निकट संवाद हुन्थ्यो। उहाँ मलाई “मधेसी” भन्दा बढी “प्रजातन्त्रवादी” ठान्नुहुन्थ्यो। उहाँ राष्ट्रिय सभामा नेपाली काँग्रेस संसदीय दलका नेता हुनुहुन्थ्यो, म प्रतिनिधि सभाको सदस्य थिएँ।
एक दिन उहाँकै कार्यकक्षमा मधेसको राजनीति र इतिहासबारे कुरा उठ्यो। मैले सोधेँ—“बासु दाइ, सुवर्णजीले भद्रकाली मिश्र, गजेन्द्र नारायण सिंह, रामजनम तिवारी, काशीप्रसाद श्रीवास्तव, चैतुलाल चौधरीजस्ता नेताहरूलाई नेपाली काँग्रेसमा किन टिकाउन सक्नुभएन? किन ती सबै विस्तारै काँग्रेसबाट बाहिरिए?”
यी सबै नाम मधेसमा नेपाली काँग्रेससँग जोडिएका प्रभावशाली नेताहरू थिए। वि.सं. २०३२ तिर उनीहरूले नागरिकता लगायत मधेसी सवालहरू उठाउन थालेका थिए। नेपाली काँग्रेसको केन्द्रीय समितिमा ती विषयमा बहस हुनुपर्ने मागसहित संयुक्त वक्तव्य जारी भएको थियो। त्यसपछि कतिपयसँग स्पष्टिकरण सोधियो। असहमतिको दूरी बढ्दै जाँदा अन्ततः सद्भावना परिषद् गठनतर्फ यात्रा मोडियो।
म यही पृष्ठभूमि बुझ्न खोज्दै थिएँ। बासु दाइले अचानक गम्भीर नजरेले हेर्दै सोध्नुभयो—“ल भन त, एउटा मधेसीका लागि ‘प्रजातन्त्र’ कतिको आधारभूत कुरा हो?”
म केही क्षण स्तब्ध भएँ। कलेज जीवनमा ‘प्रेम’ र ‘प्रजातन्त्र’ मध्ये प्रजातन्त्र रोजेको मानिसका लागि यो प्रश्न असाध्यै गहिरो थियो। उहाँले फेरि अर्को प्रश्न गर्नुभयो—“मधेसीको आदर्श पुरुष को हो? वेदानन्द झा कि गजेन्द्र नारायण सिंह वा रामजनम तिवारी?”
त्यो क्षण मलाई नेता सी.के. प्रसाई का शब्द सम्झना आए। उहाँले एकपटक भन्नुभएको थियो—“उहाँ कृष्णका बासुदेव होइनन्, नेपाली राजनीतिका खेलाडी बासुदेव हुन्, जेपी!” कठिन प्रश्नले मानिसलाई भित्रैसम्म गलाउने क्षमता बासुदेव रिसालमा थियो।
त्यसपछि उहाँले इतिहासका पानाहरू पल्टाउनुभयो।२०१७ सालको शाही ‘कू’ पछि संसदको मुख्य प्रतिपक्षी दल गोरखा परिषद ले आफ्नै विगत बिर्सेर नेपाली काँग्रेससँग एकता गर्यो। राणाशाही र सामन्ती शक्तिको प्रभाव रहेको त्यो दलका लागि यो असाधारण निर्णय थियो। उनीहरूको निष्कर्ष थियो—“राजाले संसदीय प्रजातन्त्र नै समाप्त पारेका छन्, त्यसैले लोकतन्त्रको पक्षमा उभिनुपर्छ।” भरत शम्शेर को नेतृत्वमा गोरखा परिषद् नेपाली काँग्रेसमा विलय भयो। त्यो नेपाली राजनीतिक इतिहासको एउटा महत्वपूर्ण मोड थियो।
तर यही घटनाले तराई काँग्रेस भित्र गम्भीर विवाद निम्त्यायो। तराई काँग्रेस मूलतः नेपाली काँग्रेसको मधेसमा बढ्दो प्रभावको विरोधमा बनेको थियो। त्यहाँ तराईका जमीन्दार, सम्पन्न र अभिजात वर्गको प्रभाव बढी थियो। २०१५ सालको चुनावमा पराजय भोगिसकेको त्यो दल २०१७ पछि नयाँ मोडमा पुग्यो।
तराई काँग्रेसका संस्थापक सभापति वेदानन्द झा राजा महेन्द्रको कदमलाई समर्थन गर्ने पक्षमा थिए। उहाँको धारणा थियो—राजासँग निकट भएर शक्ति हासिल गर्न सकिन्छ। तर पार्टीका महामन्त्री रामजनम तिवारीको सोच बिल्कुल फरक थियो। उहाँको स्पष्ट मत थियो—“यदि मुलुकमा प्रजातान्त्रिक शासन रहेन भने मधेस र मधेसीको हित सम्भव छैन। मधेसी समुदायको मुख्य चुनौती संसदीय प्रजातन्त्रको पुनर्स्थापना हो।”
रामजनम तिवारीले आपत्कालीन बैठक बोलाएर प्रस्ताव राख्नुभयो—“प्रजातन्त्र र मधेसीको अधिकार अन्योन्याश्रित विषय हुन्। प्रजातन्त्रविनाको मधेस दासत्वबाट कहिल्यै मुक्त हुन सक्दैन।” उहाँले राजा महेन्द्रको कदमको विरोध गर्दै असाधारण परिस्थितिमा तराई काँग्रेसलाई नेपाली काँग्रेसमा विलय गर्नुपर्ने प्रस्ताव गर्नुभयो। अन्ततः वेदानन्द झाको विचार टिकेन। तराई काँग्रेस औपचारिक रूपमा नेपाली काँग्रेसमा समाहित भयो। पछि वेदानन्द झा पंचायती व्यवस्थामा मन्त्री र भारतका लागि राजदूतजस्ता पदमा रहनुभयो। तर रामजनम तिवारीहरूको अगाडि संघर्षको कठिन र लामो बाटो खुल्यो।
अन्ततः पटनामा बसेको नेपाली काँग्रेसको बैठकमा रामजनम तिवारीले तराई काँग्रेस नेपाली काँग्रेसमा विलय भएको घोषणा गर्नुभयो।
त्यस दिन बासुदेव रिसालले मलाई भन्नुभएको एउटा वाक्य अझै स्मृतिमा ताजा छ—“बुझ्यौ जेपी, मधेसले त्यही बेलादेखि दुईवटा बाटो देख्यो—सत्ताको बाटो र आधारभूत अधिकारका लागि संघर्षको बाटो।”
आज म नेपालको प्रजातान्त्रिक आन्दोलनका ती पुराना अध्यायहरू सम्झिरहेको छु। मधेसी नेताहरूको सोच, उनीहरूको राजनीतिक प्रतिबद्धता र लोकतन्त्रप्रतिको दृष्टिकोणबारे सोचिरहेको छु।
पछि उपेन्द्र यादव ले आफ्नो पार्टीको अवधारणा पत्रमा नेपाली काँग्रेसलाई “मुख्य शत्रु” लेखे। कम्युनिष्टहरूको काँग्रेसप्रतिको दृष्टिलाई नै आधार बनाएर उहाँले राजनीति अघि बढाउनुभयो। पछिल्ला निर्वाचनहरूमा पनि सत्ता सुनिश्चित गर्न कम्युनिष्टहरूसँग सहकार्य गर्नुभयो। आज मलाई लाग्छ—वेदानन्द झा र रामजनम तिवारीको त्यो वैचारिक विभाजन अहिले पनि मधेसको राजनीतिमा जीवित छ।
आज अचानक सम्झिएँ—आज त रामजनम तिवारीजीको २७औं पुण्यतिथि पनि रहेछ।
इतिहासको घुमाउरो बाटोमा उहाँहरूले बनाएको सद्भावना पार्टी आज अस्तित्वमा छैन। अनेक टुक्रामा विभाजित छ। हालैका निर्वाचनहरूमा अपमानजनक पराजय भोगेको छ। विभाजन, विखण्डन र जनतिरस्कारको ओरालो लागिरहेको बेला, निर्वाचनअघि काँग्रेस–एमालेको सहयोगमा महन्थ ठाकुर राष्ट्रिय सभामा पुग्नुभयो। त्यसका लागि उहाँले उपेन्द्र यादव नेतृत्वको पार्टीमा समाहित हुनुपर्यो। यो पनि मधेसी राजनीतिको एउटा प्रतीकात्मक दृश्यजस्तै लाग्छ।
तर प्रश्न अझै बाँकी छ—उपेन्द्र यादव, महन्थ ठाकुर वा सीके राउत हरूले रामजनम तिवारीको त्यो सरल तर गहिरो चेतनालाई कति बुझे? “प्रजातन्त्र र मधेसीको अधिकार अन्योन्याश्रित विषय हुन्। प्रजातन्त्रविनाको मधेस दासत्वबाट कहिल्यै मुक्त हुन सक्दैन।” सायद, नेपाली लोकतन्त्र र मधेसको इतिहास बुझ्न आज पनि यही प्रश्नतिर फर्किनु आवश्यक छ।
रामजनम तिवारीप्रति हार्दिक श्रद्धाञ्जली।
लेखक जयप्रकाश आनन्द वरिष्ठ राजनीतिज्ञ हुन् । वौद्धिक नेताका रुपमा परिचित उनी राजनीतिक तथा समसामयिक विषयमा कलम चलाउँछन् । सं.