बालकको शव बोकेर भागेका एक भारतीय पक्राउ, अर्का फरार

राजविराज । सप्तरीमा मोटरसाइकलमा शव बोकेर भाग्दै गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । घटनामा संलग्न अर्का व्यक्ति भने फरार छन् ।

बुधबार साँझ शम्भुनाथ नगरपालिका–६, कठौना बजारदेखि पूर्व भगवतपुर स्कुलको गेट नजिक शम्भुनाथ नगरपालिका–५, मोहनपुर निवासी मोहम्मद सदामका १४ वर्षीय छोरा मोहम्मद सादिकलाई भारतीय नम्बर प्लेटको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएपछि उनीहरूले शव सोही मोटरसाइकलमा राखेर भागेका थिए ।

दुर्घटनास्थलबाट बालकलाई बीचमा राखेर मोटरसाइकलमा भाग्दै गरेको देखिए पनि उपचारका लागि लगेको होला भन्ने ठानेर वास्ता नगरेको एक प्रत्यक्षदर्शीले बताए । उनका अनुसार बालक साइकलमा हजुरबुवासँगै मोहनपुर गाउँबाट कठौना बजार आएका थिए । बजारबाट घर फर्किने क्रममा साइकलको चेन झरेपछि लगाउँदै गर्दा तीव्र गतिमा आएको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलमा सवार दुई जनाले दुर्घटनास्थलबाट करिब ११ किलोमिटर टाढा खडक नगरपालिका–१ स्थित दिनाभद्री थान जाने ग्रामीण सडकछेउको झाडीमा शव फालेर भाग्न खोजेका थिए । शव फालेर भाग्दै गरेको अवस्थामा स्थानीयवासीले लखेटेर एक जनालाई समात्न सफल भएका हुन् ।

स्थानीयको सहयोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । अर्का व्यक्ति भने फरार छन् । पक्राउ पर्नेमा भारतको मधुवनी, खतौनी पिपराही निवासी २८ वर्षीय मो. सादर नट रहेका छन् । उनी बोदेबरसाईन नगरपालिका–५ स्थित शत्रुघ्न चोकमा सञ्चालित सोनु मिट हाउसमा काम गर्ने कामदार रहेको बुझिएको छ ।

प्रहरी चौकी बिसनपुरका प्रहरी सहायक निरीक्षक हरेन्द्र यादवको नेतृत्वमा खटिएको टोलीले शंकास्पद बीआर–३२ बी–९७६४ नम्बरको अपाचे मोटरसाइकल पछ्याएको थियो । घटनामा संलग्न अर्का व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतक सादिक सदामका एक्ला छोरा थिए । उनी वैदेशिक रोजगारीमा रहेको स्थानीयवासीले जानकारी दिएका छन् ।

घटनापछि आक्रोशित आफन्त तथा स्थानीयवासीले बिहीबार बिहान कठौना बजारमा केही समय पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । एआइद्वारा सम्पादित तस्विर ।

Author:



क्याटोगरी छान्‍नुहोस