फ्याट्टी लिभर ग्रेड १ का लागि सामान्य डाइट चार्ट

डा. सुषमा साउद

फ्याट्टी लिभर ग्रेड १ भनेको कलेजोमा बोसो जम्ने सुरुवाती अवस्था हो । यसमा आत्तिनु पर्दैन, तर खानपान र जीवनशैली नसच्याए समस्या बढ्न सक्छ । आधुनिक विज्ञानले पनि फ्याट्टी लिभरमा तौल नियन्त्रण, स्वस्थ खाना, गुलियो पेय र अत्यधिक प्रशोधित खाना घटाउने, नियमित शारीरिक सक्रियता बढाउने कुरालाई मुख्य आधार मानेको छ ।

आयुर्वेदमा यस्तो अवस्थालाई प्रायः अग्नि कमजोर हुनु, आम जम्नु, कफ र मेद बढ्नुसँग जोडेर बुझिन्छ । यो अग्नि विकृति, कफ–मेद वृद्धि र यकृतमा बोसो जम्ने प्रक्रियासँग जोडिन्छ ।

बिहान उठेपछि

मनतातो पानी १-२ गिलास पिउन सकिन्छ । एसिडिटी छैन भने मनतातो पानीमा केही थोपा कागती मिसाउन सकिन्छ । बिहान उठ्नेबित्तिकै दूधचिया, बिस्कुट, पाउरोटी वा मिठाइबाट दिन सुरु नगर्नु राम्रो ।

बिहानको नास्ता

हल्का र पच्न सजिलो नास्ता रोज्नुहोस् । जस्तै, जौ/ओट्सको लिटो, तरकारी मिसाएको दलिया, कोदो/फापरको रोटी, मुगको दालको चिल्ला, वा तरकारीसँग १-२ वटा सानो रोटी । धेरै तेलमा बनाएको पुरी, पराठा, चाउमिन, समोसा, सेलरोटी, जेरीजस्ता कुरा कम गर्नुहोस् ।

दिउँसोअघि

स्याउ, अमला, मेवा, अम्बा वा कागती वर्गका फल थोरै मात्रामा खान सकिन्छ । फलको रस होइन, फल चपाएर खानु राम्रो । मधुमेह पनि छ भने फलको मात्रा डाक्टरसित कुरा गरेर कति खाने तय गर्नुपर्छ ।

दिउँसोको खाना

थालको आधा भाग सागसब्जी राख्ने । करेला, लौका, फर्सी, परवर, पालुंगो, रायो, मेथी, घिरौँला, काउली, बन्दा, गाजरजस्ता तरकारी कम तेलमा पकाएर खान सकिन्छ ।

एक भागमा सानो मात्रामा भात वा रोटी राख्ने । सेतो भात धेरै खाने बानी छ भने मात्रा घटाउने र सम्भव भए कोदो, फापर, जौ, गहुँको रोटी वा ब्राउन राइसजस्ता विकल्प प्रयोग गर्न सकिन्छ ।

प्रोटिनका लागि मुगको दाल, मसुरो दाल, चना, राजमा वा गेडागुडी उचित मात्रामा लिन सकिन्छ । तर पेट फुल्ने समस्या छ भने गेडागुडी भिजाएर, राम्रोसँग पकाएर, थोरै मात्राबाट सुरु गर्नु राम्रो ।

दिउँसोपछि

भोक लागेमा चिनी नहालेको हरियो चिया, जिरा–धनियाँ-सौंफ उमालेको मनतातो पानी वा पातलो मोही लिन सकिन्छ । तर मोही पनि सबैलाई मिल्छ भन्ने हुँदैन । पेटमा अम्लपित्त (ग्यास्ट्रिक), कफ वा चिसो बढी हुने व्यक्तिले आफ्नो पाचन हेरेर लिनुपर्छ । बिस्कुट, नमकिन, चिप्स, मिठाई र प्याकेटका खाजा कम गर्नुहोस् ।

बेलुकीको खाना

बेलुकीको खाना दिउँसोको भन्दा हल्का राख्नु राम्रो । तरकारीको सुप, मुग दालको झोल, थोरै रोटी, हल्का खिचडी वा कम तेलको तरकारी राम्रो विकल्प हुन सक्छ । राति धेरै भात, मासु, तारेको खाना, दही, चिसो पेय र मिठाई सकेसम्म नलिनुहोस् । खाना खाएर तुरुन्तै नसुत्ने । सुत्नुभन्दा २–३ घण्टा अघि खाना सक्नु राम्रो हुन्छ ।

के कम गर्ने ?

मदिरा, चिनी, गुलियो पेय, प्याकेट जुस, कोल्ड ड्रिंक, धेरै सेतो भात, मैदा, बेकरी आइटम, धेरै तेल, तारेको खाना, बोसोयुक्त मासु, ससेज, चाउचाउ, चिप्स र राति ढिलो भारी खाना । फ्याट्टी लिभरमा गुलियो पेय र अत्यधिक प्रशोधित खाना घटाउनु महत्त्वपूर्ण हुन्छ ।

के बढाउने ?

सागसब्जी, फाइबरयुक्त खाना, दाल-गेडागुडी, कम तेलको घरको खाना, नियमित हिँडाइ, पर्याप्त निद्रा र तौल नियन्त्रण । तौल बढी छ भने ५ प्रतिशतजति तौल घट्दा पनि कलेजोको बोसो घटाउन सहयोग पुग्छ ।

अन्तिम कुरा

यो सामान्य डाइट चार्ट हो । खासगरी ५० वर्षभन्दा माथिका उमेर भएकाहरूका लागि । त्यसैले मधुमेह, उच्च रक्तचाप, थाइराइड, कोलेस्ट्रोल, मिर्गौला समस्या वा नियमित औषधि छ भने डाइट व्यक्तिगत रूपमा मिलाउनुपर्छ । फ्याट्टी लिभरमा औषधि खोज्नुअघि खाना, हिँडडुल, निद्रा र तौल सुधार नै पहिलो उपचारजस्तै हो ।

Author:



क्याटोगरी छान्‍नुहोस