सिरहा, ११ पुस । सिरहाको गोलबजार स्थित सशस्त्र प्रहरी बेश क्याम्पले संसारकै दुर्लभ मानिने अतिसंकटापन्ना स्तनधारी वन्यजन्तु सालकसहित एक मोंटरसाईकल नियन्त्रणमा लिएको छ ।
जिल्लाको चुरे क्षेत्र आसपासबाट सालकको तस्करी भईरहेको भनी गोप्य सुचनाको आधारमा सशस्त्र प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाउदै आएको थियो । गोलबजार नगरपालिका वडा नम्वर २ लालपुर फतिङ्गग्रा डाँडाबाट तस्करी हुदैछ भन्ने सुचना पाउनासाथ सुरक्षा बेस गोलबजारबाट असई रामअयोंध्या महतो र बरिष्ठ हबल्दार रामबिर मण्डल खटिएका थिए ।
सशस्त्र प्रहरीलाई देख्नासाथ स १० प ३३३० नम्बरको मोटरसाईकलमा सवार व्यक्ति तिब्र गतिमा भाग्न खोजेपछि असई महतो र हबल्दार मण्डलले पिछा गर्दा तस्करीमा संलग्न व्यक्तीले मोटरसाईकल छाडेर भागेका छन् । बेशका ईन्चार्ज सशस्त्र प्रहरी निरिक्षक दिपक कोईरालाले तस्करीमा संलग्न व्यक्तिको मोटरसाईकल बरामद भएकोले सवारी धनीका आधारमा स्थानिय प्रहरी, यातायात र डिभिजन वन कार्यालयसँग समन्वय गरि खोजी गरिने जानकारी दिएका छन् ।
वन्यजन्तु सहित मोटरसाईकल शनिवारै डिभिजन वन कार्यालय लाहानका कर्मचारीहरुलाई बुझाईएको छ । सालक संसारको सबै भन्दा बढी तस्करी हुने स्तनधारी जनावर हो । विश्वमा औषत ५ मिनेटमा एक सालकको हत्या हुने गर्दछ ।
सालकको खपटा चिनी रोगको औषधी, फिङ्गरप्रिन्टको केमिकल र मासु चिनीयाँ परम्परागत औषधी बनाउन प्रयोग हुने र अन्तराष्ट्रिय बजारमा अत्याधिक माग हुने भएकोले यसको तस्करी बढी हुने गर्दछ । बालीनालीको पहरेदार मानिने सालकले बर्षमा ७ करोड कमिला र किरा फट्याङ्ग्रा खान सक्छन् ।
वन्यजन्तुको अवैध व्यापार सम्बन्धी अन्तराष्ट्रिय महासन्धी (साईटिस)ले सालकको व्यापारलाई अपराध मानेको छ भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा दुर्लभ तथा संरक्षित वन्यजन्तुको ओखेटोपहार राख्ने, खरिद गर्ने, बिक्री गर्ने वा ओसार पसार गर्ने व्यक्तीलाई ५ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा ५ बर्ष देखि १५ बर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।