‘आधुनिकतासँगै संस्कृति हराउँदै’

राजविराज, ७ चैत । सप्तरीको राजविराजमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बढ्दो आधुनिकतासँगै मौलिक संस्कृति हराउँदै गएको भन्दै दुःख व्यक्त गरेका छन् । शनिवार मध्यदेशीय साहित्य संघले आयोजना गरेको ‘साहित्य समागम’ कार्यक्रमका वक्ताहरुले मौलिक संस्कृतिहरुलाई लिपिवद्ध हुनुपर्नेमा जोड दिएका हुन् ।

‘अहिले हरेक क्षेत्रमा आधुनिकता हावी छ, यसको कारणले हाम्रा कला, संस्कृति, रहनसहन, भेषभुषा, चाडपर्वहरु लोप हुने अवस्थामा पुगेको छ’ नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साहले भने–‘यी सवै कुराहरुलाई तत्कालै लिपिवद्ध गरेर संरक्षण गर्नुपर्ने आवश्यक छ ।’

यसकालागि संघले पनि ध्यान पुर्याउनुपर्ने जरुरी रहेको उनको भनाई छ । ‘हामीले नै प्रयोग गरेका कतिपय सरसमानहरुको नामसम्म पनि लोप हुने अवस्थामा पुगेको छ, अबको पुस्तामा लोप भइसक्ने निश्चित छ पनि’ उनले भने–‘ती कुराहरु हाम्रा सम्पत्ति हो र यसको संरक्षण पनि हामीले नै गर्नुपर्छ, त्यसैले यसको उत्थानतर्फ पनि संघको ध्यान जाओस् ।’ 

संघका अध्यक्ष उपेन्द्र झाको अध्यक्ष तथा वरिष्ठ पत्रकार अनिलकुमार अनलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका अन्य वक्ताहरुले पनि यस क्षेत्रका संस्कृतिकासाथै भाषा र साहित्यतर्फ थप कार्यहरु हुनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा विद्यासागर साह, देवीलाल मण्डल, अधिवक्ता प्रतिमा देव, प्रिया सिंह थारु लगायतले बोलेका थिए ।

संघका महासचिव अजय कुमार झाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य भने अधिवक्ता समेत रहेका संघका उपाध्यक्ष सन्तोष कुमार चौधले दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस