मन्त्रालयका महाशाखा प्रमुखविरुद्ध डब्लुएचओका अधिकृतद्वारा जातीय विभेदको उजुरी

जनकपुरधाम । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रादेशिक स्वास्थ्य अधिकृत राजकुमार महतोले आफुमाथि जातीय विभेद भएको भन्दै बागमती प्रदेशका सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख सतिश बिष्टविरुद्व उजुरी दिएका छन् ।

अधिकृत महतोले बागमती प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, महान्यायाधिवक्तको कार्यालय र सामाजिक विकास मन्त्रालय तथा काठमाडौंस्थित मधेशी आयोग, राष्ट्रिय मानवअधिकार आयोग, पिछडिएको समुदाय (ओबिसी) विकास समिती, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन केन्द्रिय कार्यालय काठमाडौ र नेपाल जनस्वास्थ्य महासंघ काठमाडौंमा विष्टविरुद्ध उजुरी दिएका हुन् ।

बिष्टले विगत ६ महिनादेखि रङ्ग तथा थरको आधारमा आफुमाथि विभेद गर्दै आएको महतोको आरोप छ । विष्टले आफूलाई मानसिक यातना तथा कार्यस्थलमै उत्पीडन जस्ता अमानवीय कार्य गर्दै आएको तथा सुपरभाइजर र संस्थाका प्रमुखले पनि कुनै छलफल नगरी र वास्तविकता नबुझी एक महिनाको सूचना दिएर आफूलाई पदबाट हटाउने निर्णयसहितको पत्र थमाएको महतोको उजुरीमा छ ।

‘नेपालको संविधानको धारा १८ समानताको हक अनुरुप मधेशी समुदायकालाई सकारात्मक संरक्षण, सशक्तिकरण र विकास गर्नुपर्ने उल्लेख छ तर जनस्वास्थ्य महाशाखा प्रमुख विष्टले आफुलाई कार्यालयमा दूव्र्यवहार गर्ने गरेको, मोवाइल फोन प्रयोगमा रोक लगाएको, मन्त्रालयमा हुने नीति तथा कार्यक्रम छलफल बैठकमा सहभागि हुन रोक लगाएको, काठमाडौँमा संचालन हुने नीति तथा कार्यक्रम सम्बन्धी गोष्ठीमा पनि सहभागि हुन रोक लगाएकोे, मन्त्रालयको कार्य सम्पादन गर्नमा आवश्यक तथ्याङ्क सूचना नदिन कर्मचारीहरुलाई निर्देशन दिएको, मानशिक यातना दिएको र कार्यसम्पादनमा बाधा गरेको छ, महतोले भने ।

‘सामाजिक सञ्जालमा सरकार र कर्मचारीविरुद्ध स्टाटस पोष्ट गर्नुभयो’: महाशाखा प्रमुख विष्ट

बागमती प्रदेशका सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखाका प्रमुख विष्टले आफुमाथि जातीय विभेद गरेको भन्दै झुटो आरोप लगाएको बताए ।

‘महतोले सामाजिक सञ्जाल फेसबुकमा सरकार र कर्मचारीले भ्रष्टाचार गरेको भन्दै स्टाट्स पोष्ट गर्ने गरेकोले आफुहरुलाई गाह्रो भएको र मन्त्रालयले निर्णय नै गरेर विश्व स्वास्थ्य संगठन प्रादेशिक स्वास्थ्य अधिकृत पद आवश्यक नरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल सरकारलाई पत्रसमेत पठाइएको छ, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस