कोभिडको असरबाट जोगिदै आसमानको सधारणसभा सम्पन्न

अनिता यादव
जनकपुर । बाल अधिकार, शिक्षा र सुशासनलाई प्रमुख कार्यक्षेत्र बनाएर दुई दशकदेखि निरन्तर क्रियाशिल गैरसरकारी संस्था आसमान नेपालले कोभिड १९ को असरलाई व्यवस्थापन गर्दै १९ औं वार्षिक सधारणसभा सम्पन्न गरेको छ ।

शुक्रबार जनकपुरस्थित मसला कटेजको सभाहलमा संस्थाका अध्यक्ष हरिश्चन्द्र यादवको अध्यक्षतामा आयोजित सधारणसभाले वार्षिक कार्यक्रमको समिक्षा गरेको छ । पछिल्लो एक वर्षमा संस्थाले सञ्चालन गरेको विभिन्न परियोजनाको बजेट, क्रियाकलाप, उपलब्धी, चुनौति र सिकाईवारे सामुहिक छलफल भएको छ ।

सभामा सामाजिक तथा भौतिक दुरी कायम गर्न प्राविधिक सहयोग गर्ने सिमित कर्मचारीलाई बोलाइएको थियो भने कार्यसमितिका पदाधिकारी र सधारण सदस्यलाई मात्र आमन्त्रण गरिएको थियो ।

संस्थाका कार्यकारी निर्देशक नवलकिशोर यादव र सुशासन सल्लाहकार गुरुप्रसाद सुवेदी काठमाडौंबाटै जुम मार्फत अनलाइन मार्फत सहभागी भए । संस्थाका सदस्य सचिवसमेत रहेका कार्यकारी निर्देशिक नवलकिशोर यादवले तयार गरेको वार्षिक कार्य प्रगति सम्बन्धी प्रतिवेदन उनको भौतिक अनुपस्थितिमा कार्यक्रम प्रमुख दिनेश्वर साहले सधारणसभामा प्रस्तुत गरेका थिए ।

उक्त प्रतिवेदन अनुसार संस्थाले पछिल्लो एक वर्षमा साना ठुला गरी २१ वटा परियोजना सञ्चालन गरेको छ । उक्त परियोजनाका लागि विभिन्न दातृ संस्थाहरुबाट प्राप्त बजेट परिचालन गरिएको थियो ।

यस वर्ष आसमान नेपालले प्रदेश २ का सबै (८ वटै) जिल्ला, प्रदेश १ को सुनसरी र बाग्मती प्रदेशको धादिङ जिल्लागरी मुलुकका १० जिल्लामा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।  कोभिड १९ को प्रकोपमा पनि नेपाल सरकारले निर्धारण गरेको विधि र मापदण्ड बमोजिम आन्तरिक तयारी गरी आसमानले सहजीकरणका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

आसमानले शिक्षा तथा बाल संरक्षण, स्वास्थ्य तथा पोषण, सुशासन, जिविकोपार्जन तथा प्रकोप व्यवस्थापन सहित पाँच वटा विषयगत क्षेत्रमा वृहत कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । यस अन्तर्गत समाजमा देखिएको सामाजिक असमानता, गरिबी, अशिक्षा, सरकारी सेवामा नागरिकको न्युन पहुँच, विकासको प्रतिफलबाट बञ्चित महिला तथा सीमान्तकृत नागरिकको सशक्तिकरण, विद्यालय बाहिर रहेका बालबालिका, बालश्रम न्युनिकरण, युवा (खासगरी युवति), पोषण, विपद् व्यवस्थापन र स्थानीय तहमा सुशासन प्रबद्र्धनका लागि सुशासनका औजारहरुको प्रयोग, स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा सहजीकरण लगायत कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ ।

प्रतिवेदन अनुसार यस वर्षको प्रमुख उपलब्धीको रुपमा ३३ हजार ९ सय ६४ जना बालबालिकाहरुलाई आधारभूत शिक्षामा पहुँच सुनिश्चित गरेको, ३ हजार ९ सय घरधुरीमा बालबालिकाहरुको पोषणको अवस्थामा सुधार, २ लाख ४५ हजार २ सय २६ घरधुरीमा संस्थाको तर्फबाट विभिन्न प्रकारका सहयोग, एक सय चार वटा स्थानीय संघसंस्थालाई क्षमता अभिवृद्धिका लागि तालिम सहयोग र पाँच वर्ष मुनिका छ हजार बालबालिकाहरुलाई पोषण कार्यक्रम मार्फत सहयोग गरिएको छ ।

यस्तै कोभिड १९ मा करिब चार करोड रकम बराबर स्वास्थ्य तथा सुरक्षा सामग्री र शैक्षिक सामग्री वितरण, शैक्षिक सिकाईका लागि सहजीकरण, संस्थागत क्षमताको विकास, कर्मचारीलाई परिवर्तित समयानुकल क्षमताको विकास र संस्थाले सञ्चालन गरिरहेको कार्यक्रमलाई तीन वटै तहका सरकारहरुसँग समन्वयात्मक वातावरणमा अघि बढ्न सफल भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

आसमान नेपालको १९ औं सधारण सभाले संस्थालाई बालश्रमको विषयमा आफ्नो भूमिका प्रष्ट गर्ने, सम्पूर्ण बालबालिकालाई पूर्ण समय औपचारिक विद्यालयमा रहनुपर्ने अभियानलाई सशक्त तुल्याउने र संस्थालाई अनुसन्धानमा आधारित संस्थाको रुपमा विकास गर्ने नीति लिइएको कार्यकारी निर्देशक यादवले जनाए ।

साबिक कार्य समितिलाई निरन्तरता

सधारणसभाले संस्थाको वर्तमान कार्यसमितिलाई नै अगामी दुई वर्षे कार्यकालको लागि निरन्तरता दिने निर्णय गरेको छ ।

अध्यक्ष हरिश्चन्द्र यादव, उपाध्यक्ष सरस्वती गौतम, कोषाध्यक्ष लक्ष्मी कुमारी वि.क. र सदस्यहरु महादेव यादव, रेखा यादव, रामदुलारी चमैन, ललिता देवी सदा, असगर अली, राजकुमार विश्वकर्मालाई चयन गरिएको छ भने संस्थाका कार्यकारी निर्देशक नवल किशोर यादवलाई सदस्य सचिवको जिम्मेवारी तोकिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस