सप्तरीः कोरोना संक्रमित थप एक महिलाको मृत्यु, मृतकको संख्या २० पुग्यो

राजविराज, २५ असोज । सप्तरीमा थप एक कोरोना संक्रमित महिलाको आइतवार मृत्यु भएको छ । राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचाररत ६७ वर्षीय महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

उनका अनुसार डाकनेश्वरी नगरपालिका–७ ब्रह्मपुर घर भई हाल राजविराज नगरपालिका–६ मा बस्दै आएकी थिइन् । केही समयदेखि उनमा ज्वरो देखिएपछि पिसीआर परीक्षण गराईएको थियो ।

गत २० गते परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनी राजविराजस्थित होम आइसोलेसनमा बस्दै आएकोमा आइतवार श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल पुर्याइएको थियो । उपचार थालिएको १ घण्टामै उनको मृत्यु भएको निमित्त प्रमुख यादवले बताए ।

मृतक मधुमेह रोगले पनि पीडित रहेको बताइएको छ । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस