बलिदानी दिवसमा प्रदेश २ सरकारद्वारा ६० शहीद परिवार सम्मानित

जनकपुरधाम, ५ माघ । मधेश आन्दोलनका क्रममा शहादत दिएका शहीदहरुको सम्मानमा प्रदेश नम्वर २ सरकारद्वारा बलिदानी दिवस मनाईएको छ ।

जनकपुर उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित बलिदानी दिवसमा मधेश आन्दोलनको क्रममा प्रदेश २ मा शहादत दिएका ६० जना शहीद परिवारका सदस्यहरुले प्रदेश सरकारले दोसल्ला र २५ हजार नगद सहित सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतो, नेता अनिल झा, मुख्यमन्त्री लालबाबु राउत सहितका प्रदेश सरकार मन्त्रीहरुले शहीद परिवारलाई सम्मान गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले शहीदहरुको बलिदानीलाई परिवारको भरण पोषणमा कुनै कमी नराख्ने प्रतिवद्धा व्यक्त गरे । प्रदेश सरकारले घोषणा गरेको एक शहीद परिवार एक रोजगार कार्यक्रमलाई निरन्तरता दिँदै भविष्यमा शहीद परिवारहरुको लागी भरणपोषणको योजना ल्याउने तयारी भईरहेको जानकारी समेत दिए ।

कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ नेता राजेन्द्र महतोले आन्दोलनताका गरिएको प्रतिबद्धता अनुरुप शहीद परिवारहरुको लागि आवश्यक सहयोगको काम प्रदेश सरकारले जारी राखेकोमा धन्यवाद दिदै बाँकी रहेका कामहरु समेत समयमै पुरा गर्न प्रदेश सरकारले आग्रह गरे । जसपाका नेता अनिलकुमार झाले मधेश आन्दोलनको कडीका रुपमा रहेका सम्पूर्ण आन्दोलनका शहीद एवं अगुवाहरुलाई स्मरण गर्दै शहीदहरुको बलिदानीलाई आफुहरु विर्सन नसक्ने बताए ।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार शहीदहरुको बलिदानी र आन्दोलनका घाइते योद्धाहरुको योगदानलाई उच्च मुल्याङ्कन गर्दै आएको बताए । एक शहीद परिवार एक रोजगार कार्यक्रम अन्तर्गत प्रदेश २ का अधिकांश शहीद परिवारले रोजगारी पाईसकेको र विभिन्न कारणले बाँकी रहन गएको परिवारहरुलाई यथाशीघ्र रोजगारी दिने प्रक्रियामा रहेको उनले जानकारी दिए । आन्दोलनका अशक्त घाइतेहरुलाई प्रदेश सरकारले अवस्था हेरी सहयोग गर्दैआएको र आगामी दिनमा समेत निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गरे ।

शहीद परिवार एवम् घाइतेहरुको दीर्घकालिन व्यवस्थापनकालागि प्रदेश सरकारले मधेशी शहीद प्रतिष्ठान गठन गर्ने क्रममा रहेको र उक्त प्रतिष्ठान गठन पश्चात दीर्घकालिन व्यवस्थापनको प्रक्रिया अगाडि बढाउने मुख्यमन्त्री राउतले बताए । मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोका आमा रानो देवीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, सामाजिक विकास मन्त्री नवल किशोर साह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह लगायतका वक्ताहरुले शहीदहरुको योगदानबारे चर्चा गरे ।

मधेश आन्दोलनका शहीदहरुको सम्मानमा आन्दोलनका नेतृत्वकर्ता दलहरुले मनाउदै आएको बलिदानी दिवस सरकार गठन भए यता प्रदेश सरकारले मनाउन थालेका छन् । सरकार गठनको पहिलो वर्ष लहानमा बलिदानी दिवस मनाएको प्रदेश सरकारले दोस्रो वर्ष विरगञ्जमा मनाएका थिए भने यो वर्ष प्रदेश नम्वर २ को अस्थायी राजधानी जनकपुरधाममा मनाईएको छ । सरकारले माघ ५ गते वलिदानी दिवसको अवसरमा प्रदेशमा सार्वजनिक विदा समेत दिँदै आएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस