सञ्चारमाध्यमलाई सबल बनाउनेतर्फ कार्य भइरहेको छः अध्यक्ष यादव

राजविराज, १ चैत । आम सञ्चार प्राधिकरण, प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादवले प्रदेशभरिका सञ्चारमाध्यमलाई सवल बनाउनेतर्फ कार्य भइरहेको बताएका छन् । सप्तरीको राजविराज आइतवार आयोजना गरिएको ‘सुरक्षित र व्यवसायिक पत्रकारिताका लागि महासंघको भूमिका विषयक अन्तरसम्वाद कार्यक्रम’मा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अधिकार प्राप्तिको लागि भएको विभिन्न आन्दोलनको बेला बन्द भएका सञ्चार माध्यमहरुलाई पुनः सञ्चालनमा ल्याउन गृह कार्य भइरहेको बताए । ‘बन्द भएका सञ्चारमाध्यमहरुलाई पुनः सञ्चालनमा ल्याउने हाम्रो योजना छ, जसअनुसार पहिलो चरणमा बन्द भएका सामूदायिक रेडियोहरु सञ्चालनमा ल्याउँछौं’ उनले भने–‘जसको लागि गृह कार्य थालिएको छ ।’

सुरु देखि नै प्रदेश सरकार सञ्चारमाध्यमलाई सवल बनाउने दिशामा अघि बढेको उनले बताए । ‘अहिले सोहीअनुसार नै प्रदेशमा सञ्चार प्राधिकरण र मिडिया काउन्सिल गठन भएको छ र यी निकायले नै सञ्चारमाध्यम र सञ्चारकर्मीको संरक्षण गर्नेछ’ उनले भने–‘जसकालागि केही समय लाग्छ, यस कार्यमा यहाँहरुको पनि साथ र सहयोग त्यति नै चाहिन्छ ।’

उनले अहिलेको अवस्थामा हामी सडकमै रहेर पनि सञ्चार क्षेत्रलाई सवल बनाउने दिशामा कार्य सुरु गरिसकेको बताए । ‘अहिले त हामीलाई पनि बस्नेसम्मको ठाउँ छैन्, हामी सडकमै छौं’ अध्यक्ष यादवले भने–‘तर, पहिलो चरण अन्तर्गत सामूदायिक रेडियोहरुमा रहेको समस्याबारे अन्तरक्रिया गरे, अन्य सञ्चारमाध्यम र सञ्चारकर्मीसँग पनि छिट्टै अन्तरक्रियासहितका कार्यक्रम गर्ने हाम्रो योजना छ ।’

उनले पत्रकारिता पेशा नै संकटमा रहेको विषय आफुलाई पनि अवगत नै रहेको बताए । ‘श्रमजिवी पत्रकारको दुःख, समस्या, पिडा मैले नवुझेको पनि होइन्’ उनले भने–‘पत्रकारिता पेशा संकटमा छ र प्रदेश सरकार अवश्य पनि संकटलाई दुर गर्ने कुरा विश्वास छ ।’

मुलुकमा संघीयता आउनु सञ्चार क्षेत्रको ठुलो योग्दान रहेको उनले स्पष्ट गरे । ‘संघीयता ल्याउनमा सञ्चार क्षेत्रले निर्वाह गरेको भुमिका प्रदेश सरकारले बिर्सेको छैन्’ उनले भने–‘प्रदेश सरकारको अबको पाइला नै सञ्चार क्षेत्र र सञ्चारकर्मीको संरक्षण हो ।’

अर्को प्रसंगमा बोल्दै अध्यक्ष यादवले पत्रकार आचार संहिताभित्र रहेर काम गर्न आग्रह गरे । ‘यद्यपी, कहीँ कत्तैबाट सञ्चारकर्मीलाई धाकधम्की वा तनाव दिने काम भयो भने त्यस्ता व्यक्तिलाई कानूनी दायरामा ल्याउन आफुहरु साथ र सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।

Author:



क्याटोगरी छान्‍नुहोस