इटहरीका चार वटा कलेज अनिश्चितकालका लागि बन्द

विराटनगर । इटहरी उपमहानगरपालिका निजी कलेजहरु अनिश्चितकालका लागि बन्द भएका छन् । लकडाउन अवधीको शुल्क मिनाहा गर्नुपर्ने माग गर्दै विद्यार्थीहरु आन्दोलित भएपछि सञ्चालकहरुले नै अनिश्चितकालका लागि कलेज बन्द गर्ने भएका हुन् ।

उच्च माध्यमिक विद्यालयहरुको छाता संगठन हिसान सुनसरीले शुक्रबार एक विज्ञप्ती जारी गर्दै अर्को सुचना प्रकाशित नहुन्जेलसम्म इटहरीका सम्पूर्ण कलेजहरु बन्द गर्ने जनाएको छ । विद्यार्थीहरुको आन्दोलनले शिक्षक, कर्मचारी र विद्यार्थीहरुमा मनोवैज्ञानिक त्रास उत्पन्न भएको भन्दै कलेजहरु बन्द गर्ने निर्णय भएको अध्यक्ष मुकुन्द घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

आन्दोलित इटहरीका चार ठूला कलेजहरु विश्व आदर्श, सुषमा, कस्तुरी र कोशी कलेजका विद्यार्थीहरुले शुक्रवार कलेज गेटमा सामान्य क्षती पुर्याएका थिए । सोही क्रममा विश्वआदर्श कलेजका सुरक्षा गार्ड मोहनकुमार अधिकारीमाथि कुटपिट भएको विज्ञप्तिमा जनाएको छ । कुटपिटबाट घाइते भएका अधिकारीको विराट मेडिकलमा उपचार भइरहेको जनाएको छ ।

यसैगरी हिसानले विद्यार्थी संगठनहरुले आन्दोलनमा समर्थन गर्दै जारी गरेको विज्ञप्तीप्रति असन्तुष्टी समेत व्यक्त गरेको छ । शुक्रबारै इटहरी उपमहानगरपालिकाको पहलमा भएको वार्तामा सात दिनभित्र समस्या समाधान गर्ने गरिएको प्रस्ताव विद्यार्थीहरुले अस्वीकार गरेर क्याम्पसको गेटमा ताला लगाएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस