पत्रकार महासंघले आफ्नै विधान मिचे, सप्तरी शाखा आन्दोलित

राजविराज, १० चैत । नेपाल पत्रकार महासंघले नयाँ र सदस्यता नवीकरणमा आफ्नै विधान मिचेको भन्दै शाखा सप्तरीले आन्दोलन थालेको छ । शाखाका अध्यक्ष जितेन्द्र खड्गा र सचिव जितेन्द्र झाले मंगलवार विज्ञप्ति जारी गर्दै केन्द्रीय समितिले नयाँ र सदस्यता नवीकरणमा हैकमवाद लादन खोजेको दावी गरेका छन् ।

नयाँ सदस्यताको हकमा केन्दीय समितिले महासंघको विधान २०६० (पाँचौ संशोधन २०७५) को परिक्षेद २ को दफा ५ को उपदफा (ख) र (ग) विपरित शाखाले सिफारिश नै गरेको दुई जनालाई सदस्यता सूचीमा राखेको र नवीकरणको हकमा पनि दफा ६ को उपदफा (ख) विपरित निरन्तर चार वर्षसम्म शाखामा नवीकरण नगरेकाको सदस्यता नवीकरण गरेको विज्ञप्तिमा छ ।

विज्ञप्तिमा भनिएको छ, ‘एकातर्फ विधान विपरित केन्द्रीय समितिले नयाँ सदस्यता थप्ने तथा नवीकरण गर्ने निर्णय गरेको छ भने अर्कोतर्फ शाखाले नियमानुसार रिफरिस गरेर पठाएका यस शाखाका पूर्व अध्यक्ष प्रकाश खतिवडा र सदस्य दिपक गुप्ताको नाम मतदाता नामावलीमा समावेश नगरिएको प्रति हाम्रो आपत्ति छ ।’

संस्थालाई भोटको राजनीतिका लागि केन्द्रीय समितिले गरेको सो दुराषययुक्त निर्णय अविलम्व नसच्याइए तीनै तह (शाखा, प्रदेश र केन्द्र) को निर्वाचन नै वहिष्कार गरी संघर्षमा जान बाध्य हुने विज्ञप्तिमा चेतावनी समेत दिइएको छ ।

महासंघको तीन तहमै यही चैत २५ गते निर्वाचन तोकिएको छ । निर्वाचन तालिका अनुसार केन्द्रीय समितिले गत सोमवार मतदाता नामावली सार्वजनिक गरेपछि सप्तरीसहितका जिल्लाहरुमा विवाद चुलिएको छ । विवादले तत्काललाई निर्वाचन तालिका समेत प्रभावित भएको छ भने तोकिएको मितिमा निर्वाचन हुने विषयमा पनि अन्यौलता बढ्दै गएको छ ।

सिफारिश नै नभएका नयाँ र नवीकरण भएका सदस्यको सूचीः

१. शैलेन्द्र कुमार सिंह (नयाँ सदस्यता)
२. लोकेन्द्र प्रसाद यादव (नयाँ सदस्यता)
३.प्रेम श्रेष्ठ (नवीकरण)
४. गोविन्द अधिकारी (नवीकरण)
५. अम्विका दाहाल (नवीकरण)
६. महेन्द्र मण्डल (नवीकरण)
७. अमरनाथ मण्डल (नवीकरण)
८. कृष्ण कुमार लिमिल्सिना (नवीकरण)

विधानमा के छ ?

विज्ञिप्तिमा नयाँ सदस्यताको हकमा नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौ संशोधन २०७५) को परिक्षेद २ को दफा ५ को उपदफा (ख) र (ग) चर्चा गरिएको छ भने नवीकरणको हकमा दफा ६ को उपदफा (ख) विपरित केन्द्रीय समितिले कार्य गरेको उल्लेख छ ।

विधान २०६० (पाँचौ संशोधन २०७५) को परिक्षेद २ को दफा ५ को उपदफा (ख) मा आवेदन आफु समक्ष आएपछि शाखा वा एशोसियट संस्थाले छानवीन गरी योग्यता पुगेका आवेदकको सदस्यता स्वीकृत गरी अनुमोदनका लागि सम्बन्धित प्रदेश समितिमा पठाउनुपर्नेछ । प्रदेश समितिले त्यस्तो विवरण प्राप्त भएको मितिले तीन महिनाभित्र सदस्यता टुंगो लगाइसक्नुपर्नेछ ।

यसैगरी, (ग) मा सदस्यतामा विवाद उत्पन्न भएमा प्रदेश समितिले छानवीन गर्न सक्नेछ । यसरी छानवीन गर्दा योग्यता बमोजिम सदस्य नहुनेलाई सदस्य बनाएको वा योग्यता हुँदाहुँदै सदस्य बन्नबाट वञ्चित गराएको पाइएमा त्यस्तो शाखा वा एशोसिएट संस्था वा त्यसममा संलग्न पदाधिकारी वा सदस्य उपर छानवीन गर्न सकिनेछ । यस्तो कारवाहीमा त्यस्तो शाखा वा एशोसिएट संस्थाकाको समितिलाई सचेत, निलम्बन, भंग गर्ने व्यवस्था छ । यद्यपी, यस्ता प्रक्रियाअघि स्पष्टीकरण माग गरिने विधानमा उल्लेख छ ।

नवीकरणको हकमा दफा ६ को उपदफा (ख) मा हरेक वर्ष सदस्यता नवीकरण गर्नुपर्नेछ । तर दुई वर्षभित्र शत प्रतिशत विलम्ब शुल्क लिई सदस्यता नवीकरण गर्न सकिनेछ । लगातार दुई वर्षसम्म नवीकरण नगर्ने सदस्यको सदस्यता स्वतः खारेज हुनेछ । यसरी सदस्यता खारेज भएका पत्रकारले पुनः सदस्य बन्न चाहेमा नयाँ प्रक्रिया सुरु गर्नु पर्नेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस