कटारी बजारमा आगलागी हुँदा एक कलिलो बालकको जलेर मृत्यु भयो । बिर्तामोडमा आगलागी हुँदा एक महिलाको जलेर मृत्यु भयो । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिकास्थित एक पशु फार्ममा आगलागी हुँदा २० वटा चौपाया जलेर मरे । तिलाठी कोइलाडी गाउँपालिकाअन्तर्गत भएको एक आगलागीमा चारवटा घर जलेर सखाप भए । आगो निभाउने क्रममा मानिसहरू घाइते भएको संख्या हरेक घटनामा छ । यी घटनाहरू यसैबीचका हुन् ।
आगलागीमा घर, खानेकुरा, लत्ताकपडा, भाँडावर्तन, नगदजति सबै सम्पत्ति सखाप हुन्छ । घरमा आगो लाग्दा मान्छे त भाग्छन् तर बाँधिएका घरपालुवा भाग्न सक्दैनन् । यदाकदा मानिस पनि जलेर अकालै स्वाहा भएको देखिन्छ । एक घरमा आगो लागे नियन्त्रण गर्न सकिएन भने अर्को अर्को घर पनि समाउँदै जान्छ, डढाउँदै जान्छ । आगलागीको दृश्य भयानक हुन्छ । वनको डढेलो झन भयङ्कर हुन्छ ।
आगलागी नेपालको स्थायी समस्या हो । चैत–वैशाखमा सबैभन्दा धेरै आगो लाग्छ । गृह मन्त्रालयको ‘विपत् पोर्टल’ का अनुसार, सन् २०११ देखि २०२० सम्ममा १३ हजारभन्दा बढी आगलागीका घटना भएका छन् । जसमा आगलागीबाट १६ हजारजति घर सखाप भएका छन् भने ६ सयभन्दा बढी मानिस मारिएका छन् । आगलागीका कारण बर्सेनि अर्बौंको सम्पत्ति नष्ट हुने गरेको छ र सम्पत्ति नष्ट हुने मात्रा बर्सेनि बढ्दै गएको छ ।
मध्यमवर्गीय परिवारले पक्की घर बनाउने क्रम बढेकाले त्यस वर्गमा आगलागीको जोखिम त्यसै अनुपातमा घट्दै गएको भन्न सकिन्छ । तर निम्नवर्गीय परिवारको घर कच्ची हुने भएकाले उनीहरू आगलागीको जोखिमबाट तत्कालै उम्किने अवस्था छैन । जबकि देशमा बहुसंख्यक परिवार निम्न वर्गकै रहेकोमा दुई मत छैन् ।
विपदबाट नागरिकको जीउ र धन तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्नु राज्यको कत्र्तव्य हो । राज्यले आफ्नो कर्तव्य पूरा गर्न दैवी प्रकोप उद्धार तथा विपद् व्यवस्थापनका लागि ऐनकानून बनाएको छ । ऐनकानून कार्यान्वयन गर्नका लागि सरकारले विभिन्न निकायको निर्माण गरेको छ । साथै अन्य सरकारी कार्यालय तथा अधिकारीहरूलाई समेत विपद् व्यवस्थापन तथा विपद्पूर्व तयारीको लागि जिम्मेवार बनाएको छ ।
रेडक्रसजस्ता सामाजिक संस्था पनि छन्, जसले विपद्को क्षेत्रमा कार्य गर्दछन् । तर यी निकाय वा संस्थाले आगलागी भइसकेपछि आगो नियन्त्रण गर्ने, पीडितको उद्धार गर्ने र प्रभावित परिवारलाई राहत पु¥याउने कार्य गर्दछन् । तर आगो लाग्नुबाट कसरी बचाउने त्यसको उपाय गर्न सक्दैनन् ।
भुकम्प, बाढीजस्ता विपद्हरू रोक्ने हैसियत मानिसको छैन तर आगलागीका घटना भने मानिसको आफ्नै लापरवाहीका कारण हुने गरेको हुन्छ । त्यसैले आगलागीबाट बच्न र बचाउन सकिन्छ । दाउरा तथा खरपातले खाना पकाउँदा, घुर ताप्दा, केटाकेटीले आगो चलाउँदा आगो लाग्नु आगलागीका परम्परागत कारणहरू हुन् । अहिले ग्यास चुहिएर, सिलिण्डर विस्फोट भएर, बिजुली शट भएर आगो लाग्ने घटना बढेको छ ।
मानिस तथा घरपरिवारले सावधानी अपनाएमा आगलागीको जोखिमलाई हदैसम्म नियन्त्रण गर्न सकिन्छ । तर यसतर्फ जिम्मेवार निकाय तथा सामाजिक संस्थाहरूले सचेतना कार्यक्रम चलाउनु आवश्यक छ । बालबालिकालाई जथाभावी आगो खेलाउन नदिएमा, चुरोटको ठुटो जथाभावी नफालेमा, भोजपछि होशियारीपूर्वक आगो निभाएमा, घरमा खाना बनाउँदा खाना खाइसकेपछि आगो राम्रोसँग निभाएमा, बिजुली सट हुनबाट जोगाउनपूर्व तयारी गरेमा, अनि अन्य प्रज्वलनशील पदार्थको प्रयोगमा होशियारी गरेमा घर, गाउँ, बस्ती र सहरहरूमा हुने आगलागी रोकथाम गर्न सकिन्छ । यसर्थ यसतर्फ सबै सरोकारवाला पक्षको ध्यानाकर्षण हुनु आवश्यक छ ।