प्रदेश २ मा कोरोना संक्रमणको जोखिम, बारामा मास्क नलगाउनेलाई कारवाही गरिने

जनकपुर, ११ चैत । केही दिनयता भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सिमासँगै जोडिएको प्रदेश २ मा पनि संक्रमणको जोखिम बढेको छ । खुला सिमा नाकाका कारण संक्रमित सहजै प्रवेश पाउने भएकाले प्रदेश २ मा पनि संक्रणमको जोखिम बढेको हो ।

सोही कुरालाई मध्य नजर गर्दै सतर्कता अपनाउन प्रदेश सरकारले पहल थालेको छ । ‘प्रदेश २ का ८ वटै जिल्लामा सिमा नाकामा सतर्कता अपनाउन समन्वय भएको छ’ प्रदेश २ स्वास्थ्य निदेशनालयका प्रमुख डा. विजय कुमार झाले भने–‘सबै जिल्लाका स्वास्थ्य कार्यलयका प्रमुखलाई कोभिड सङ्कट व्यवस्थापन समिति र स्थानीय तहसँग समन्वय गरी सिमा नाकामा हेल्प डेस्क राख्ने निर्देशन दिइएको छ ।’

यसैगरी प्रदेशका सबै जिल्लामा प्रयोगशाला रहेकाले भोलिदेखि नै परीक्षण दर बढाउने कार्य लाग्न निर्देशन जारी भइसकेको उनले बताए ।

उता, सिमानाकामा पनि कडाइ गर्न निर्देशन दिइएको छ । सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले भारतबाट आउने सवैलाई आवश्यक सोधपुछ गरेर मात्रै प्रवेश दिन निर्देशन दिइएको बताए । प्रदेश २ मा पूर्वको सप्तरीदेखि पश्चिमको पर्सासम्म ४६४ किलोमिटर दक्षिण सीमा क्षेत्र भारतसँग जोडिएको छ ।
सो नाकामा ७२ विओपी र ९ एफओपी पोष्टमा रहेका सुरक्षाकर्मी सो कार्य निगरानी बढाउन भनिएको छ ।

बारामा मास्क नलगाउनेलाई कारवाही गरिने

बारामा बुधवार बसेको डिसीसीएमसीको बैठकले संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै मास्क प्रयोग नगर्नेलाई संक्रामक रोग ऐन बमोजिम कारवाही गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सो बारे जानकारी गराएको छ ।

आउँदै गरेको फागु पुर्णिमा (होली) पर्वको अवसरमा भिडभाड हुन नदिने, पहिले सञ्चालनमा आएका क्वारेन्टिन र आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राखेर स्वास्थ्य केन्द्रहरुबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउन आवश्यक तयार गर्न निर्णय गरिएको छ ।

यसैगरी संक्रमणबाट जोगिन विद्युतीय माध्यमबाट चेतनामुलक सन्देश प्रशारण गर्ने र प्रभावकारी बनाउन आवश्यक तयारी गर्ने, स्यानिटाइजर, मास्कको प्रयोग गर्ने र सामाजिक दुरी कायम गर्ने निर्णय भएको छ ।

यसैगरी सीमानाकाबाट आउने यात्रुहरुको आवतजावतलाई व्यवस्थित गरी सवैको अभिलेख राख्ने र नेपाल प्रवेश गर्नेको अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गराएर प्रवेश गराउने निर्णय भएको सूचनामा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस