होली विथ कोरोना

अब दुई चार दिन मात्र बाँकी रहँदा पनि होलीको हालखबर केही छैन । होलीको स्वागत गर्दै मानिसमा फुटेर आउने उमंग, उत्साह र उल्लास केही पनि छैन । बल्कि होलीको उमंग, उत्साह र उल्लासमाथि उदासीनताले आसन जमाई राखेको प्रतीत हुन्छ । नेपाल सरकारले हरेक वर्ष झैं यस वर्ष पनि फागुको सार्वजनिक विदा घोषणा गरी राखेको छ । तर होलीमा सम्भाव्य विघ्नले होलीको विदा कसरी मनाउने भन्ने प्रश्न खडा गरी दिएको छ । किनभने कोरोना गए पनि अब उसको भूतले टाउको उठाउन थालेको प्रतीत हुन्छ ।

गएको २०७६ मा फागुन २६ र २७ गते होली परेको थियो । त्यतिखेर यतातिर कोरोनाको कागले कराउन थालेको थिएन । लकडाउनको समाचारबाट भारतै पनि बेखबर थियो । कोरोनाको समाचार त्यति व्यापक भएको थिएन । त्यसैले गत वर्ष होली पर्व गत–विगत झैं उल्लासपूणै रह्यो । यो वर्ष होली चैत १५ र १६ गते पर्दछ । गत वर्ष चैतको दोस्रो साता सुरु भएको लकडाउन साउन ६ गते सकिएको थियो ।

नेपाल सरकारका प्रवक्ता मन्त्री युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै भनेका थिए, ‘अब भरे राति १२ बजेबाट लकडाउन सकियो भन्ने बुझ्नुप¥यो ।’ उनले विभिन्न क्षेत्रमा लगाइएका प्रतिबन्धहरू क्रमशः खुला गर्दै लगिने बताए । सरकारको नीति र निर्णय बमोजिम हवाई, होटल, रेष्टुराँ, ट्राभल, ट्रेकिङ्ग, विद्यालयसम्म सबै क्षेत्र ठीक ठीक समयमा ठ्याक ठ्याक खुले । तर ती कुराहरू अहिले फेरि बन्द हुने त्रासमा पुगेका छन् । फेरि लकडाउनको समाचारले भावी होलीलाई प्रभावित पार्न थालेको छ । होली मात्र होइन, यस्तै हो भने सिरुवा पर्व र नयाँ वर्ष पनि प्रभावित हुन सक्नेछ ।

संसार अहिले ‘कोरोना रिटन्र्स’ को दौरबाट गुज्रिन थालेको छ । यसै साता संसारभर कोरोना पुनरागमनको धङधङी तीव्र भएको । सीमावर्ति प्रदेशहरू सतर्क हुन थालेका छन् । प्रदेश सरकारले आवश्यक सतर्कता अपनाउन निर्देशित गरेको छ ।

जनस्वास्थ्यले सीमा नाकामा हेल्प–डेस्क राख्ने, क्वारेन्टिन र आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा बस्ने, प्रयोगशालाहरूले परीक्षण दर बढाउने र प्रहरीले सर्तकता तथा निगरानी बढाउने भएका छन् । बारा प्रशासनले बुधबार एक आदेश जारी गर्दै मास्क प्रयोग नगर्ने व्यक्तिउपर कानुनी कारबाही हुने जनाएको छ । यसलाई एक तरहले लकडाउनको पूर्वाभ्यास मान्न सकिन्छ ।

तर अब यी कुराहरूलाई आम मानिसले कसरी लिन्छन् भन्ने कुराले भावी लकडाउनको स्थिति कस्तो रहने हो भन्ने निर्धारण गर्नेछ । आम मानिसले मास्क प्रयोग गर्ने, हात धुने, स्यानिटाइज गर्ने, सामाजिक दूरी कायम राख्नेजस्ता कुरामा चनाखो रहन सकेमा, सजग र सतर्क रहेमा भावी समयमा कारणवश लकडाउन नै लागे पनि असर गर्न सक्दैन । लकडाउनको अर्थ संक्रमणको बाटोलाई छैक्नु हो । नयाँ संक्रमित पैदा हुन नदिनु हो । यसको अर्थ तपाइँकहाँ आउने थिति वा अतिथि बिना स्यानिटाइज घर पस्न नपाउनु हो । तपाइँ आफैं पनि बाहिर जाँदा सामाजिक दूरी कायम राखेर काम गरे पनि बिना स्यानीटाइज घरभित्र नपस्ने भन्ने हो ।

छिमेकी राष्ट्र वा विदेशी राष्ट्र होस् वा एक वा अर्को नगर, गाउँ, सहर, जिल्ला वा प्रदेश नै किन नहोस्, एक अर्कोले दुईतर्फी आवागमनलाई स्क्रीनिङ्ग गर्ने हो, क्वारेन्टिनमा राख्ने हो, आइसोलेसनमा राख्ने हो, के के हो, सबै गर्ने हो ! यी सबै कुरा जस्तो भए पनि हामीले डिस्टेन्सिङ्ग, स्यानिटाइजिङ्ग, मास्किङ्ग आदि आधारभूत आचरणलाई आत्मसात गर्न सक्यौं भने जता जे भए पनि हामी स्वयंमा भने सुरक्षित रहन सक्छौं । हामीले हाम्रो आफन्तलाई जोगाउन सक्छौं ।

अब यो वर्ष होली पर्वमा पनि भीडभाड न गरौं । होलीको माहौलले परस्पर सामिप्यतालाई आमन्त्रित गर्दछ । तर त्यो मीठो क्षण नमिठो नलागोस्, त्यसतर्फ सचेत रहँदै हामी ‘होली वीथ कोरोना’ कसरी मनाउने भन्ने विचार गर्ने तिर लागौं, अहिले दुई चार दिन अझ बाँकी छ, होली आउन । तर निरास न बनौं । होलीको उमंग, उत्साह र उल्लासलाई भने जगाई राखौं ।

Author:



क्याटोगरी छान्‍नुहोस