महासंघको मर्यादा र गरिमा बढाउने दिशामा अघि बढ्नुस्ः भट्टराई

राजविराज, ६ वैशाख । मिडिया काउन्सिल प्रदेश २ का अध्यक्ष शिवहरि प्रसाद भट्टराईले सबै मिलेर नेपाल पत्रकार महासंघको मर्यादा र गरिमा बढाउने दिशामा कार्य गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् । सोमवार नेपाल पत्रकार महासंघ शाखा सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण तथा पदस्थापन गर्न आयोजना गरिएको समारोहमा उनले यस्तो बताएका हुन् ।

‘चुनावको बेला केही तितामिठा कुराहरु पनि भएको होला, अब ती कुराहरुलाई विर्सिएर सबै मिलेर पत्रकार महासंघको मर्यादा र गरिमा बढाउनेतिर अघि बढ्नपर्छ’ उनले भने–‘सञ्चारकर्मीहरुको भुमिका र कार्यले नै महासंघको मर्यादा र गरिमा कायम रहन्छ भन्ने कुरा विर्सिनु हुँदैन् ।’

सो कार्यमा नवनिर्वाचित पदाधिकारीहरुले भुमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे । ‘नवनिर्वाचित पदाधिकारीहरुले सो कार्यमा राम्रो भुमिका निर्वाह गर्छन् भन्ने विश्वास लिएको छु’ उनले भने–‘सबै सञ्चारकर्मीहरुको समस्या बुझेर अघि बढ्नुस्, त्यस्तै समस्या भए हामी साथ र सहयोग गर्न तयार छौं ।’

शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खड्काको अध्यक्षतामा आयोजित समारोहमा नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत वैद्यनाथ झा र प्रमुख अतिथी भट्टराईले प्रमाणपत्र वितरण तथा पदस्थापन गरेका छन् ।

समारोहमा आम सञ्चार प्राधिकरण प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य अवधेश कुमार झा, प्रमुख जिल्ला अधिकारी फनिन्द्रमणि पोखरेल, महासंघ शाखाका पूर्व अध्यक्षहरु विष्णुकुमार मण्डल र धिरेन्द्र प्रसाद साह, वरिष्ठ पत्रकार अनिलकुमार अनल, सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधान, गैरसरकारी संस्था महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष ध्रुव कुमार देव, सप्तरी अध्यक्ष शम्भुनन्दन चौधरी लगायतले नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिएका थिए ।

गत चैत २५ गते भएको निर्वाचनबाट अध्यक्षमा श्रवण देव, बैद्यनाथ यादव, उपाध्यक्ष (महिला)मा अम्बिका दाहाल, सचिवमा रामनारायण विश्वास र सहसचिवमा चन्दन कुमार यादव, सहसचिव (समावेशी)मा गोपाल प्रसाद गुप्ता, कोषाध्यक्षमा नविन गुप्ता निर्वाचित भएका छन् ।

यसैगरी खुला सदस्यहरुमा राजेन्द्र कुमार मिश्र, विद्यानन्द राम, दिनानाथ यादव र खगेन्द्र कार्की तथा सदस्य आदीवासी जनजातिमा कृष्ण कुमार मण्डल, सदस्य मधेशीमा परिष कर्ण, महिला सदस्यमा रश्मी झा र दलित सदस्यमा राजकुमार पासवान निर्वाचित भएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस