निजी विद्यालयको अटेरीले राजविराजका बालबालिकामाथि संक्रमणको जोखिम !

राजविराज, ९ वैशाख । कोरोना भाइरसको संक्रमण रोकथाम गर्न गरिएको सरकारी निर्णयलाई राजविराजका अधिकांश निजी विद्यालयहरुले अवज्ञा गरेको पाइएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर चलेपछि सरकारले गत सोमबार मन्त्रिपरिषद् बैठक बसेर राजविराजसहितका स्थानमा रहेको विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम केन्द्रमा वैशाख मसान्तसम्म भौतिक रुपमा उपस्थित नगराएर भर्चुअल वा वैकल्पिक शिक्षण सिकाई मात्र सञ्चालन गर्न निर्णय गरेको छ ।

एता, राजविराजले पनि गत मंगलवार (वैशाख ७ गते) सूचना जारी गर्दै भौतिक रुपमा उपस्थित नगराएर भर्चुअल वा वैकल्पिक शिक्षण सिकाई मात्र विद्यालय सञ्चालन गर्न वा शैक्षिक संस्थाहरु बन्द गर्न भनेको छ । तर राजविराज नगरपालिकाका अधिकांश निजी विद्यालयहरु निर्वाद रुपमा सञ्चालन हुँदै आएको छ ।

राजविराजका नोबेल एकेडमी, ह्यापील्याण्ड, रोज पब्लिक, होलिक्रश, शिव इन्टरनेशन लगायतका निजी विद्यालयहरु निर्वाद रुपमा सञ्चालन हुँदै आएको छ । केही विद्यालयहरुले त सरकारी निर्णय छल्न ‘अफ ड्रेस’मा पनि विद्यार्थी बोलाएर पठनपाठन गर्दै आएको अभिभावकहरु बताउँछन् ।

नोबेल एकेडमी राजविराजका प्रिन्सिपल प्रविण ठाकुरले अन्य विद्यालयहरु सञ्चालन भइरहेकोले आफुहरु पनि सञ्चालन गरेको मधेशलाइभलाई प्रक्रिया दिए । ‘सबैतिर विद्यालय चलेकै छ, अनि हामीले पनि सञ्चालन गरेका हौं’ उनले भने–‘सवैलाई भन्नु न बन्द गर्न अनि हामी पनि बन्द गरिहाल्छौं नि ।’

प्रमुख जिल्ला अधिकारी फनिन्द्रमणि पाखरेलले निर्णय कार्यान्वय गराउने विषयमा अनुगमन थालिएको बताए । ‘निर्णय विपरित कार्य गर्नेहरुमाथि कानूनी प्रक्रिया अघि बढाउने हाम्रो तयारी छ,’ उनले भने । प्रमुख जिल्ला अधिकारी पोखरेलले महामारीलाई रोकथाम गर्न सवैलाई सहयोग गर्न अपिल पनि गरे ।

उता, नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले केही विद्यालयहरुले भौतिक रुपमा उपस्थित गराएर पठनपाठन जारी राखेको कुरा भखरै जानकारी आएको मधेशलाइभलाई बताए । ‘तत्कालै ती विद्यालयहरुलाई पत्र काट्ने तयारी भइरहेको छ’ उनले भने–‘यद्यपी अटेर गरेर जनस्वास्थ्यसँग खेलबाड गरेको पाइए कारवाही गर्न हामी पछि पर्दैनौं ।’

Author:



क्याटोगरी छान्‍नुहोस