कोरोना रोकथामका लागि पूर्वतयारी नगरेको भन्दै प्रदेश २ सरकारको आलोचना

जनकपुरधाम । कोरोना संक्रमणको दोस्रो लहर सुरु भए पनि प्रदेश २ सरकारले त्यसको केही तयारी नगरेको भन्दै प्रदेशसभा सदस्यहरूले आपत्ति जनाएका छन् ।

सांसदहरूले पहिलो पटक कोरोना महामारी आएको बेला केही तयारी गरे पनि अहिले थप बलियो भएर कोरोना आएको समय प्रदेश सरकारले पूर्वतयारी नगरेको भन्दै आलोचना गरेका छन् ।

कांग्रेसका प्रदेशसभा सदस्य रामसरोज यादवले अहिले छिमेकी राष्ट्र भारतमा ३ लाखभन्दा बढी संक्रमित फेलापरेको र नेपालमा खुला सीमा, अव्यवस्थित सीमाको कारण नयाँ भेरियेन्टको कोरोना प्रवेश गरेको खबर आइरहेको समय प्रदेश सरकारले त्यसतर्फ ध्यान नदिएको बताए ।

उनले प्रदेश सरकारले अहिलेसम्म कोभिड अस्पतालसमेत बनाउन नसकेकोमा आपत्ति जनाए। उनले भने, ‘मैले थाहा पाएअनुसार प्रदेश सरकारसँग कर्मचारी छैनन् । पहिले पनि प्रदेश सरकारले कोभिडको समय काम गरेका कर्मचारीलाई दोब्बर तलब दिने भनेको थियो तर उनीहरूले आफ्नो तलबसमेत पाएनन् ।’

यादवले प्रदेश सरकार निकम्मा रहेको टिप्पणी गरे। उनले भने, ‘अहिले प्रदेश सरकारको अर्बौं रुपैयाँ अन्यत्र खर्च भइरहेको छ । तर कोरोनाविरुद्धको काममा बढी ध्यान दिनुपर्ने हो।’

आफ्नो घर सीमा क्षेत्रमै रहेको जानकारी दिँदै उनले भने, ‘यो सरकारले कम्तीमा सीमानाका व्यवस्थित गर्नुपर्ने थियो। सीमानाकामा निर्वाध आवत जावत छ, कुनै स्थान व्यवस्थित छैन । पार्टी र सरकारको कुरा मात्र नभएकाले सबैलाई सहभागी गराएर कोरोनाविरुद्ध लड्न आवश्यक रहेको उनले बताए ।

त्यस्तै, नेकपा एमालेका प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्माले कोरोना पुनः एकपटक भयावह अवस्थामा आएको समय न आइसोलेसनको तयारी गरिएको छ न क्वारेन्टिनको व्यवस्था भन्दै आपत्ति जनाएका हुन् ।

उनले भने, ‘अहिले भयावह अवस्था आइसकेको छ। वीरगन्जका अस्पतालमा अक्सिजन अभाव हुन थाल्यो, बेडको अभाव छ। प्रदेशमा विपद व्यवस्थापन समिति पनि छ तर प्रदेशमा मैले कुनै तयारी देखेको छैन ।’

प्रदेश सरकार कोरोनाप्रति गम्भीर नरहेको भन्दै उनले अहिले गाउँमा कोरोनाको अपव्याख्यासमेत हुन थालेको बताए ।

नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य दिलीपकुमार साहले कोरोनाका कारण पुनः विश्व एकपटक आक्रान्त अवस्थामा रहेको बेला प्रदेश सरकारले बेवास्ता गरेकोमा आपत्ति जनाए ।

मानव समुदायलाई फेरि आतंकित बनाउने गरी कोरोना आएको समय प्रदेश सरकारले जुन प्रकारले गम्भीरतापूर्वक यसको तयारी गर्नुपर्ने थियो त्यस्तो केही नगरेको टिप्पणी गरे ।

कुरा धेरै गरे पनि व्यवहारमा केही नगरेको भन्दै सबैले प्रदेश सरकारलाई दबाब दिनुपर्नेमा उनले जोड दिए ।

 

 

Author:



क्याटोगरी छान्‍नुहोस