गजेन्द्रनारायण सिंह अस्पतालः मेसु विरुद्ध सडकमा उत्रिएका चिकित्सकको सरुवा !

राजविराज, १० वैशाख । एक महिनाअघि मात्रै निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु)बाट दुव्र्यवहार भएको भन्दै न्याय गुहार्दै सडकमा उत्रिएका गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत दुवै जना चिकित्सकको सरुवा भएको छ । डा.अजयकुमार चौधरी र डा.जितेन्द्र यादवको सरुवा भएको हो ।

मधेशलाइभलाई प्राप्त जानकारी अनुसार डा.चौधरीलाई सोलुखुम्बु अस्पताल र यादवलाई पञ्चकुले नगरपालिकाको कार्यालय सुर्खेत सरुवा भएको छ । गत फागुन २७ गते पत्रकार सम्मेलन गर्दै डा.अजयकुमार चौधरी र डा.जितेन्द्र यादवले मेसु डा.रञ्जित कुमार झा विरुद्ध सडकमा उत्रिएका थिए भने जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिएका थिए ।

‘निजी क्लिनिकलाई प्राथमिकतामा राखेर मेसु डा.झा अघि बढेको र त्यसलाई न्यूनिकरण गर्न खोज्दा आफुसहितका चिकित्सकहरुलाई होच्याउँने कार्य हुँदै आएकोमा गए राति (गत फागुन २६ गते) मेसु डा. झासहितका २०/२२ जनाको समूहले निवासमै आएर ढोका छोडफोड गरेको छ’ डा.चौधरीले पत्रकार सम्मेलनमा भनेका थिए–‘मैले इर्मेजेन्सीमा आएका विरामीलाई राम्रो उपचार सेवा दिँदै आएको छु, रिफरै गर्नुपर्दा सम्भवतः धरान सरकारी अस्पतालमै पठाउँदै आएको छु पनि । तर मेसु साब’लाई ती कुराहरु अपच्य हुँदैछ ।’

इर्मेजेन्सी शाखाका इन्चार्ज समेत रहेका डा.चौधरीले आफुहरुलाई यहाँबाट हटाउनको लागि दम्कियाउने कार्य भइरहेको पत्रकार सम्मेलनमा प्रक्रिया दिएका थिए ।

‘रिक्त पदहरु पूर्ति गराउनेतर्फ ध्यान दिनुपर्नेमा सरुवा गराउने पक्षमा उभिनु दुःखत’

जनशक्ति अभावका कारण उपचार सेवा प्रभावित भइरहेकै बेला उपलब्ध चिकित्सकको पनि सरुवा भएको प्रति राजनितिकर्मीहरुले दुःख व्यक्त गरेका छन् । ‘अस्पतालबाट प्रभावकारी उपचार सेवा प्रवाह गर्न मेसुको भुमिका महत्वपूर्ण हुन्छ, तर मेसुबाट त्यो भुमिका निर्वाह भएको देखिदैन्’ पूर्व मन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका नेता उमेशकुमार यादवले भने–‘मेसुले अहिले रिक्त रहेको पदहरु पूर्ति गराउनेतर्फ कार्य गर्नुपर्ने थियो, तर उल्टो सरुवा गराउने पक्षमा उभिएको देखिन्छ ।’

उनले यस्तो कार्यले अस्पताल पुनः रेफरल सेन्टरतर्फ उन्नमुख हुने कुरामा दुविधा नरहेको बताए । ‘अस्ती चिकित्सकहरु आन्दोलित भएको कुरा मेरो दिमागमा ताजै छ र यो सरुवा पनि ती घटनासँग सम्बन्धित छन्’ उनले भने–‘यसरी सत्ता र शक्तिको आडमा योग्य डाक्टरहरु टिक्न नदिने र चिकित्सकहरुलाई मानसिक तनाव दिने कार्य खेदपूर्ण छ ।’

आफ्नै रबैयाले उनीहरुमाथि कारवाही भएको छः निमित्त मेसु डा.झा

अस्पतालका निमित्त मेसु डा.झाले उनीहरुको आफ्नै रबैयाले कारवाही गरिएको बताए । ‘न नागरिक समाजले उनीहरुलाई सर्पोट गरेको थिए न त राजनितिक दलले नै’ उनले भने–‘उनीहरु खाली निजी स्वार्थमा लागेकाले हामीले स्पष्टीकरण सोधेर मन्त्रालयमा पनि वुझाएका थिए, उनीहरुको आफ्नै रबैयाले कारवाहीमा परेको छ ।’

यो पनिः

गजेन्द्रनारायण सिंह अस्पतालः मेसुबाटै चिकित्सक असुरक्षित, न्याय गुहार्दै प्रहरीमा जाहिरी !

Author:



क्याटोगरी छान्‍नुहोस