वीरगन्जमा एकैदिन तीन कोरोना संक्रमितको मृत्यु

वीरगन्ज । पर्साको वीरगन्जमा सोमबार एकै दिन कोरोना संक्रमित ३ जनाको मृत्यु भएको छ। मृतक तीन जना पर्सा जिल्लाका हुन्। सोमबार वीरगन्जको नारायणी अस्पतालमा २ जनाको र बयोधा अस्पतालमा १ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड फोकल पर्सन विनय श्रीवास्तवले जानकारी दिए।

नारायणी अस्पतालमा सोमबार साँझ पर्साको बहुदरमाइ नगरपालिका वडा नम्बर ७ की ४५ वर्षीय संक्रमित महिलाको मृत्यु भएको हो। निमोनियाले ग्रस्त ती महिला आइतबार नारायणी अस्पतालमा भर्ना भएकी थिइन्।

नारायणी अस्पपतालमै सोमबार एन्टिजेन प्रविधिमार्फत कोरोना चाँज गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। उपचारका क्रममा उनको सोमबार साँझ ६ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए।

सोमबार साँझ नै वीरगन्जको गण्डकस्थित बयोधा अस्पतालमा, वीरगन्ज महानगरपालिका-८ की ३८ वर्षिया संक्रमित महिलाको मृत्यु भएको छ। कोरोना संक्रमण पुष्टि भएपछि ती महिला सोमबार नै मध्यान्ह बयोधा अस्पतालमा भर्ना भएकी थिइन्।

बयोधा अस्पतालमै उपचारका क्रममा ती महिलाको सोमबार साँझ पौने ६ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड फोकल पर्सन श्रीवास्तवले जानकारी दिए।

यसअघि सोमबार नै बिहान नारायणी अस्पतालमा वीरगन्जकै एक पुरुषको मृत्यु भएको छ। सोमबार बिहान वीरगन्ज महानगरपालिका-६ आदर्शनगरका ६० वर्षीय पुरुषको नारायणी अस्पतालमा मृत्यु भएको हो। निमोनियाबाट ग्रसीत ती पुरुषमा बैशाख २ गते कोरोना संक्रमण पुष्टि भएपछि बैशाख ३ गते नारायणी अस्पतालमा भर्ना भएका थिए।
नारायणी अस्पतालमै उपचारका क्रममा उनको सोमबार साढे ९ बजे मृत्यु भएको अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए।

कोरोनाको दोस्रो लहर सुरु भए यता कोरोना संक्रमणका कारण वीरगन्जमा मृत्यु हुनेको संख्या १४ पुगेको छ। मृतक १४ जनामध्ये पर्साका ११ जना , बाराका २ र सर्लाहीका १ जना हुन्।

सोमबार ३ जना संक्रमितको मृत्यु भएपछि वीरगन्जको नारायणी अस्पतालमा सोमबार बेलुकीसम्म अब ५१ जना संक्रमित उपचाररत छन्। ती सबै संक्रमितको अवस्था जटिल रहेकाले अक्सिजन लगाएर राखिएको डाक्टर दासले जानकारी दिए।

यस्तै बयोधा अस्पतालमा अब १२ जना संक्रमित उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड फोकल पर्सन श्रीवास्तवले जानकारी दिए।

Author:



क्याटोगरी छान्‍नुहोस