सेवासुविधा नदिए काम छोड्ने कोसीका स्वास्थ्यकर्मीहरूको चेतावनी

विराटनगर । विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीले काम छोड्ने चेतावनी दिएका छन् । सामाजिक विकास मन्त्रालयबाट पाउनुपर्ने सेवासुविधा नदिएकाले आफूहरू काम छोड्ने अवस्थामा पुगेको उनीहरूले बताएका हुन् ।

कोभिड संक्रमणको दोस्रो लहर चलेसँगै अवस्था भयावह हुँदै गएको छ । यतिखेर कोभिडको उपचार गर्ने संस्थामा बिरामीको संख्या ह्वात्तै बढेको छ । विराटनगरस्थित कोभिड अस्पतालमा सोमबार साँझसम्म २२ जना संक्रमित उपचाररत छन् । तर, सेवासुविधा नपाएकाले भन्दै उक्त अस्पतालमा उपचार सेवामा खटिएका स्वास्थ्यकर्मीले भने काम छोड्ने चेतावनी दिएका छन् ।

कोभिडको लहर बढेसँगै आफूहरूलाई काममा बोलाइए पनि सम्बन्धित मन्त्रालयले आवश्यक सेवासुविधा दिन नमानेकाले आफूहरू काम छाडेर जाने अवस्थामा पुगेको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कार्यरत स्टाफ नर्स दिव्या श्रेष्ठले बताइन् ।

कोभिड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले विगतको करारलाई निरन्तरता दिनुपर्ने, जोखिम भत्ता दिनुपर्ने र स्वास्थ्यकर्मीका लागि उचित क्वारेन्टाइनको व्यवस्था गर्नुपर्नेलगायतका माग गरेका छन् । उनीहरूले ती माग राख्दै सामाजिक विकास मन्त्रालय पुगे पनि मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले आफ्ना जायज माग सुन्नुको साटो रुखो व्यवहार गरेर पठाएको डा. दिपेन्द्र महतोले गुनासो गरे ।

स्वास्थ्यकर्मी तथा चिकित्सकहरू काम छाडेर जाने अवस्थामा पुगेपछि मन्त्रालयबाट उपसचिव अम्बिका चौलागाईंको नेतृत्वमा कोभिड अस्पताल पुगेको टोलीसँगसमेत स्वास्थ्यकर्मीहरूले आफ्ना मागहरू लिखित रूपमै प्रस्तुत गरेका थिए । सहजीकरणका निम्ति पुगेका उपसचिव चौलागाईंले स्वास्थ्यकर्मीलाई मानवीय सम्वेदना हेरेर कामलाई निरन्तरता दिन आग्रह गरे ।

देखिएका समस्या तथा स्वास्थ्यकर्मीका मागलाई सरकारले क्रमिक रूपमा पूरा गर्दै जाने उनले आश्वासनसमेत दिए । प्रत्यूत्तरमा स्वास्थ्यकर्मीले आफूहरू अत्यन्त जोखिममा काम गरिरहे पनि त्यसबापतको भत्ता नपाएको तथा बस्ने खाने उचित व्यवस्थापन नभएको गुनासोसमेत गरेका थिए ।

उपसचिवको आश्वासन र आग्रहपछि स्वास्थ्यकर्मी तथा चिकित्सकले अझ केही दिनसम्म पर्खने बताएका छन् । उक्त अस्पतालमा हाल आठ जना मेडिकल अफिसर, आठ स्टाफ नर्स र आठ जना हेल्थ असिस्टेन्ट गरी २४ जना काम गरिरहेका छन् । यसबाहेक मन्त्रालयबाट खटिएका चिकित्सकसहित थप दुई जना कर्मचारी कार्यरत छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस