एक साताको ‘अल्टिमेटम’ दिँदै कोशी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए

विराटनगर । सेवा सुविधा नपाएको भन्दै आन्दोलित बनेका विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी काममा फर्किएका छन् ।

आफ्ना जायज माग पूरा गर्न प्रदेश १ सामाजिक विकास मन्त्रालयलाई एक हप्ताको अल्टिमेटम दिँदै उनीहरू काममा फर्किएका हुन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले विगतको करारलाई निरन्तरता दिनुपर्ने, जोखिम भत्ता दिनुपर्ने र स्वास्थ्यकर्मीका लागि उचित क्वारेन्टाइन, खानालगायतको व्यवस्था गर्नु पर्ने माग राख्दै सोमबारदेखि आन्दोलनमा उत्रिएका थिए ।

करारमा नियुक्ति पाएका स्वास्थ्यकर्मीले माग सम्बोधनका लागि एक साताको समय दिएका छन् । मन्त्रालयका उपसचिव अम्बिकाप्रसाद चौलागाईंसहितको टोलीसँग सोमबार स्वास्थ्यकर्मीको छलफल भएको थियो । उनले व्यवस्थित क्वारेन्टाइन, पोषणयुक्त खानाको प्रबन्ध गर्ने र जोखिम भत्ताका लागि केन्द्र सरकारसँग समन्वय गर्ने आश्वासन दिएका थिए ।

छलफलपछि स्वास्थ्यकर्मीले एक साताको समय दिएको जानकारी आफूलाई आएको मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताए । उनले उनले स्वास्थ्यकर्मीले आन्दोलन गर्नुपर्ने अवस्था नरहेको बताउँदै संकटको बेला विभिन्न अनावश्यक माग राखेर घुक्र्याउन खोजेको दाबी गरे ।

उक्त अस्पतालमा ८ जना मेडिकल अफिसर, ८ स्टाफ नर्स र ८ जना हेल्थ असिस्टेन्ट गरी २४ जना कार्यरत छन् । यसबाहेक सामाजिक विकास मन्त्रालयबाट खटिएका चिकित्सकसहितका थप दुई जना अन्य कर्मचारी कार्यरत छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस