निशुल्क अक्सिजन बैंक सञ्चालन

विरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको अभाव हुन थालेपछि विरगञ्ज महानगरपालिकाले निशुल्क अक्सिजन बैंक स्थापना गरी सञ्चालनमा ल्याएको छ। कोभिड संक्रमणको कारण अप्ठ्यारोमा परेका नागरिकको जीवन रक्षाका लागि विरगञ्ज महानगरपालिका र लायन्स क्लव इन्टरनेशनलको साझेदारीमा विरगञ्जमा मंगलवार  देखि निशुल्क अक्सिजन बैकको स्थापना गरि सञ्चालनमा ल्याइएको हो।

विरगञ्ज महानगरपालिकाले अक्सिजनको अभावका कारण जीवन जोखिममा रहेका महानगरपालिकामा बसोबास गर्ने नागरिकको जीवन रक्षाका लागि निशुल्क रुपमा अक्सिजन वितरण गर्न लागेको नगर प्रमुख विजयकुमार सरावगीले बताए। कोरोना संक्रमित भइ होम आइसोलेशनमा रहेका संक्रमितको जीवन रक्षाका लागि आवश्यक पर्ने औषधी, अक्सिजन र त्यसमा लाग्ने किट समेत निशुल्क रुपमा विरगञ्ज महानगरपालिका कार्यालयमा स्थापना गरिएको अक्सिजन बैंकबाट वितरण गरिने लायन्स क्लव अफ इन्टरनेशनलका पूर्व निर्देशक संजय खेतानले बताए।

होम आइसोलेशनबाहेक विरगञ्जका अस्पतालमा समेत उपचारार्थ भर्ना भएका कोरोना संक्रमितको लागि अस्पतालमा सहज रुपमा अक्सिजन व्यवस्था नभएमा महानगरपालिका रहेको अक्सिजन बैंकबाट निशुल्क रुपमा अक्सिजनको सिलिन्डर सहित त्यसमा लाग्ने किट उपलब्ध गराइने नगर प्रमुख सरावगीले बताए।
अक्सिजन प्रयोगपछि पुन विरगञ्ज महानगरपालिकाको अक्सिजन बैंकमा खाली सिलिण्डर फिर्ता गर्नुपर्ने शर्त राखेर कोरोना संक्रमितका लागि अक्सिजन वितरण गरिने लायन्स क्लवका पूर्व काउन्सिलर चेयरमेन रमेश अग्रवालले जानकारी दिए ।

विरगञ्जमा अस्पतालको बेड नपाएर ७९८ संक्रमित होम आइसोलेसनमा छन्। तीमध्ये कतिपयको अवस्था बिग्रंदा गइरहेकाले अक्सिजनका लागि आफन्तले गुहार लगाइरहेका बेला महानगरले मंगलबारदेखि निशुल्क अक्सिजन बैंक सञ्चालनमा ल्याएको हो। होमआइसोलेशनमा उपचार गराइरहेका संक्रमितहरुको स्वास्थ्य अवस्था जानकारी लिन हरेक वडा कार्यालयमार्फत प्यारामेडिकल सहितको स्वास्थ्यकर्मी परिचालन पनि गरिएको नगर प्रमुख सरावगीले बताए।

विरगञ्जकै नेसनल अक्सिजन इन्डस्ट्रिजले तीन दिन अघि महानगरपालिकाको कार्यालयलाई १ सय ५० सिलिण्डर अक्सिजन निःशुल्क उपलब्ध गराएको थियो।

Author:



क्याटोगरी छान्‍नुहोस