प्रदेश १ मा २१ सय बेड क्षमताको कोभिड डेडिकेटेड अस्पताल बनाउने तयारी

बिराटनगर । कोरोना संक्रमण बढेसँगै प्रदेश १ सरकारले २१ सय शय्याको कोभिड डेडिकेटेड अस्पताल बनाउने तयारी गरेको छ ।

मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले सुनसरीको धारानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल, विराटनगरको नोबेल शिक्षण अस्पताल, झापको बीएण्डसी अस्पतालमा ५–५ सय शय्या तथा विराटनगरको न्यूरो, कार्डियो तथा मल्टी स्पेसियालिटी अस्पताललाई १०० शय्या क्षमताको कोभिड डेडिकेटेड अस्पताल बनाउने तयारी गरिएको हो ।

डेडिकेटेड अस्पतालका लागि आवश्यक सहयोग, समन्वय र अनुमतिका लागि सीसीएमसीसमक्ष प्रस्ताव गरी पठाउने निर्णय भएको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । उनका अनुसार निजी अस्पतालहरूलाई कोभिड उपचारमा दिइँदै आएको अनुदान रकम सम्बन्धमा अझ स्पष्ट बनाई थप अनुदान रकम उपलब्ध गराई गुणस्तरीय सेवा प्रवाह गर्ने वातावरणका लागि संघीय सरकारसमक्ष पत्र पठाउने निर्णय भएको छ ।

प्रदेश १ मा ९ वटा अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ । दैनिक संक्रमितको संख्या बढेसँगै प्रदेश सरकारले अस्पतालहरूमा बेड क्षमता बढाउने तयारी गरेको हो ।

प्रदेश १ मा अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगर, विराट मेडिकल कलेज बूढीगंगा, न्यूरो अस्पताल विराटनगर, नोबेल मेडिकल कलेज विराटनगर, मेची अस्पताल झापा, बीएण्डसी अस्पताल झापा, धनकुटा अस्पताल र संखुवासभा अस्पतालमा संक्रमितको उपचार भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस