सिरहामा जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा जारी (के गर्न पाइने/के नपाइने)

जनकपुरधाम । कोरोना संक्रमण दिनदिनै बढ्दै गएपछि सिरहामा तीन साताका लागि निषेधाज्ञा जारी गरिएको छ । डीसीसीएमसीको बिहीबारको बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी आगामी २१ जेठको राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

यसअघि गत वैशाख २३ गतेदेखि जिल्लामा आंशिक निषेधाज्ञा लागू गरिएको थियो । कोरोना संक्रमणको ग्राफ दिनानुदिन बढ्दै गएपछि पूर्ण निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञा अवधिभर निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटीपार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टरलगायत सञ्चालन गर्न नपाइने डीसीसीएमसीले जनाएको छ ।

स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधन भने सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए । खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल बिहान ६ बजेदेखि साढे ९ बजेसम्म मात्रै खोल्न पाइने पनि उनले जनाए ।

निर्माण सामग्री भण्डारण गर्नेबाहेक बिहान साढे ९ बजेदेखि बेलुकी ५ बजेसम्म व्यवसाय गर्न पाइने डीसीसीएमसीको निर्णयमा उल्लेख छ ।

हाल जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ५४ रहेको छ । जसमध्ये ३१ जना निको भइसकेको छ । हालसम्म मृत्यु हुनेको संख्या भने १८ पुगिसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस