२४ घण्टामा सप्तरीका ४ जना कोरोना संक्रमितको मृत्यु

राजविराज, ७ जेठ । सप्तरीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमणबाट हिजो (विहिवार) एक जना र आज (शुक्रवार) तीन जना गरी चार जनाको मृत्यु भएको हो ।

हिजो राजगढ गाउँपालिका–१ का ४० वर्षीय एक पुरुषको विराट शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । गत वैशाख ३१ गते विराटनगरकै कोशी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा रिपोर्ट पोजेटिभ आएपछि थप उपचारको लागि उनलाई विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको हिजो मृत्यु भएको निमित्त प्रमुख यादवले बताए ।

यसैगरी आज मात्रै महादेव गाउँपालिका–२ का ५५, हनुमाननगर कंकालिनी नगरपालिका–१ का ७२ र कञ्चनरुप नगरपालिका–८ का २८ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । ५५ र ७२ वर्षीय पुरुषको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको उनले बताए । ५५ वर्षीय पुरुषमा गत शनिवार संक्रमण पुष्टि भएको थियो भने ७२ वर्षीय पुरुषमा गत वैशाख २७ गते संक्रमण पुष्टि भएपछि उपचाररत अस्पतालमा भर्ना गराएका थिए ।

यसैगरी गत वैशाख ३१ गते संक्रमण पुष्टि भएका २८ वर्षीय पुरुषको विराट मेडिकल अस्पतालमा मृत्यु भएको निमित्त प्रमुख यादवले बताए ।

योसँगै सप्तरीमा दोस्रो लहरको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । यसअघि पहिलो लहरमा संक्रमणबाट सप्तरीमा ४१ जनाका मृत्यु भइसकेको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस