संविधान मास्ने प्रतिगामी काम भयो- उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान मास्ने काम भएको बताएका छन्।

मधेशलाईभसँग संक्षिप्त कुरा गर्दै जसपा अध्यक्ष यादवले मध्यरातमा भएको प्रतिगामी कदमले जनतालाई फेरि सडकमा आउन बाध्य बनाएको बताए।

‘अब हामी सबै मिलेर प्रतिगामी कदमका विरूद्ध लड्नुपर्छ। त्यसका लागि प्रतिगमनको बिरोधमा रहेका दलहरू एक ठाउँमा उभिनुपर्छ,’ उनले भने, ‘अब क्रान्तिकारी पक्ष मिलेर प्रतिगमनलाई परास्त गर्नुको विकल्प छैन।’

तपाईंकै पार्टीका सांसदले पनि प्रधानमन्त्रीको कदमलाई साथ दिनुभयो नि भन्ने प्रश्नमा यादवले उनीहरूको विगत नै प्रतिगमन पक्षमा रहेको आरोप लगाए।

‘उहाँहरूको बारेमा म धेरै टिप्पणी गर्दिनँ। कोही पञ्चायतमा लागेको कोही शाहीकालको पक्षमा लागेकाहरू छन्,’ उनले भने, ‘उहाँहरूको विगत कहिले पनि परिवर्तनको पक्षमा छैन। अब उहाहरूसँगको सहकार्यबारे पार्टीमा छलफल हुन्छ।’

जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीको पक्षमा हस्ताक्षर गरेका थिए। ठाकुर-महतोसँग जसपाका बहुमत सांसद रहेको दाबी थियो।

Author:



क्याटोगरी छान्‍नुहोस