प्रदेश २ : समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि दुई गाउँ शिल

जनकपुरधाम । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि धनुषाका दुई गाउँ शिल गरिएको छ । गणेशमान चारनाथ नगरपालिका-५ स्थित चिसापानी र मिथिला नगरपालिका-११ स्थित लोटा गाउँलाई शिल गरिएको हो ।

चिसापानी गाउँमा एकैदिन ३५ संक्रमण देखिएपछि शुक्रबारदेखि गाउँ शिल गरिएको हो । रुघाखोकी, ज्वरोलगायत कोरोना संक्रमणको लक्षणसँग मिल्दो जुल्दो बिरामीको संख्या बढेपछि नगरपालिकाले स्वाब संकलन गरी परिक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर पठाएको थियो । तीमध्ये ३५ जनाको रिपोर्ट पोजेटिभ आएको गणेशमान चारनाथ नगरपालिकाका स्वास्थ्य इञ्चार्ज श्यामजी रायले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म नगरपालिकाको सात वटा गाउँबाट २ सय ३७ जनाको स्वाब परीक्षण गर्दा ९५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । तीमध्ये ६१ जना पुरुष र ३४ जना महिला छन् । त्यसैगरी प्रादेशिक कोभिड अस्पताल जनकपुरमा स्वाब परिक्षण गराएकामध्येबाट समेत २१ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

संक्रमितमध्ये तीन जनाको नगरपालिकाले पोर्ताहामा अक्सिजनलगायत सम्पूर्ण सुविधासहित सञ्चालन गरेको आइसोलेन वार्डमा उपचार भइरहेको छ भने सामान्य अवस्थाका अन्य बिरामीलाई होम आइसोलेनमा राखेर उपचार भइरहेको छ । त्यसैगरी मिथिला नगरपालिकाको लोटा गाउँका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि गत बुधबारदेखि गाउँ शिल गरिएको छ ।

त्यहाँ पनि कोरोना संक्रमितको लक्षणसँग मिल्दो जुल्दो बिरामीको संख्या गाउँमा बढेपछि नगरपालिकाले ५४ जनाको स्वाब संकलन गरी परिक्षणका लागि प्रादेशिक कोभिड अस्पताल जनकपुर पठाइएको थियो । त्यसमध्ये मंगलबार आएको रिपोर्टमा ४६ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

संक्रमितमध्ये जटिल देखिएका दुई जनाको सिन्धुलीमा उपचार भइरहेको र बाँकीको अवस्था सामान्य रहेको नगरपालिका अधिकृत रचिन्द्र डङ्गोलले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस