मोरङमा थप ६ दिन लम्बियो निषेधाज्ञा

बिराटनगर । मोरङमा थप ६ दिन निषेधाज्ञा लम्ब्याइएको छ । कोरोना संक्रमणको जोखिम रोकथाम तथा न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय मोरङले आगामी १७ जेठसम्मका लागि निषेधाज्ञाको समयावधि थप गरेको हो । प्रशासनले यसअघि ११ जेठ राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।

सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले थप ६ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।

बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम ११ जेठको राति १२ बजेदेखि लागू हुने गरि १७ जेठसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको उनले बताए । उनले यसपटक सुनसरी, मोरङ र झापाको निषेधाज्ञामा एकरूपता कायम गर्ने निर्णयसमेत गरिएको बताए ।

मोरङमा पहिलो पटक १८ वैशाख रातिको १२ बजेदेखि लागू हुनेगरि सातदिने आंशिक निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले निरन्तर निषेधाज्ञाको समयावधि थप गर्दै आएको छ । गत ३१ वैशाखदेखि लागु हुने गरि जारी गरिएको निषेधाज्ञाको समयावधि पनि ११ जेठ समाप्त हुँदैछ ।

Author:



क्याटोगरी छान्‍नुहोस