निषेधाज्ञामा सुनसान कोशी ब्यारेज

राजविराज । कुनै बेला माछाकालागि प्रसिद्ध सप्तरीको कोशी ब्यारेज क्षेत्र अहिले सुनसान छ । निषेधाज्ञाका कारण सार्वजनिक तथा निजी सवारी बन्द भएकोले यहाँका करीब तीन दर्जन खाजा पसल बन्द छन् । व्यवसाय बन्द हुँदा दैनिक गुजारा समेत चलाउन मुस्किल भएको व्यवसायी गुनासो गर्छन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण सप्तरीको कोशी ब्यारेज क्षेत्र सुनसान छ । यससंगै माछाका विभिन्न परिकार बनाउने चार दर्जन भन्दा बढी पसल बन्द छन् । पूर्व पश्चिम लोकमार्गसित जोडिएको यस क्षेत्रमा छिमेकी मुलुक भारतबाट समेत माछा खान उपभोक्ता आउने गर्दथे । माछाको कारोबार बढ्दै गएपछि पसलहरु पनि थपिँदै जाँदा यस क्षेत्रको रौनक बढेको थियो । तर, सरकारी निषेधाज्ञाका कारण अहिले सुनसान बनेको स्थानीय व्यवसायी कुमार शर्मा बताउँछन् । बन्दाबन्दीले हातमुख जोर्न सकस भएको उनको भनाइ छ ।

माछा बेचेर राम्रै आयआर्जन भएपनि अहिले व्यवसाय नै चौपट भएको उनको भनाइ छ । पसल बन्द हुँदा आम्दानी शुन्य भएको मात्रै होइन परिवार बेरोजगार पनि बनेको अर्की व्यवसायी रबिना खातुन बताउँछिन् ।  कमाइ नभएकोले  अहिले बिहान बेलुकाको छाक टार्न पनि चुनौति भएको उनको भनाइ छ ।

माछा व्यवसायीको मात्रै होइन सप्तकोशी नदीमा माछा मारेरै जीवन गुजारा गरिरहेकालाई पनि निषेधाज्ञाले समस्या थपेको छ । निषेधाज्ञाका कारण डुङ्गा चलाउन नपाउँदा हातमुख जोर्न समस्या परेको उनीहरुको गुनासो छ । उनीहरुले राहतको व्यवस्था मिलाईदिन र डुङ्गा सञ्चालनको वातावरण बनाइदिन सरोकारवालासंग माग समेत गरेका छन् ।

तस्बिर हेर्नुहोस

Author:



क्याटोगरी छान्‍नुहोस