पतिको स्वास्थ्य र दिर्घायुको कामना गर्दै ‘बटसावित्री’ पर्व मनाइँदै

राजविराज, २७ जेठ । पतिको स्वास्थ्य र दीर्घायुको कामना गर्दै आज (विहिवार) मिथिलाञ्चलका महिलाहरुले बटसावित्री (बर्साइत) पर्व मनाइरहेका छन् । बिहानैदेखि महिलाहरुले वरको रूखमा पूजापाठ गरी दिनभर उपवासमा बसेर यो पर्व मनाउने परम्परा छ ।

यो पर्व मनाउने महिलाहरुले नयाँ वस्त्र धारण गर्नाका साथै बाँसको हातेपंखा, प्रसादसहित धार्मिक परम्परा अनुसार वरको रुखमा पूजापाठ गर्छिन । वरको रूखमा ब्रम्हा, विष्णु र महेशको बास हुने गरेकाले सो रूखको मुनि बसेर पतिको दीर्घायुका लागि कामना गर्दा मनोकामना पूर्ण हुने हिन्दू धर्मावलम्बीहरुको जनविश्वास छ ।

सत्ययुगमा सतिसावित्रीले आफ्ना मृत पति सत्यभानको जीवन यमराजबाट फिर्ता गराउन सफल भएपछि सोको सम्झना स्वरुप यो पर्व मनाउन थालिएको बताइन्छ । यो पर्व निष्ठापुर्वक मनाइए पतिको दीर्घायु हुने भनी यमराजले वरदान दिएको भविष्य पुराणमा उल्लेख गरिएको छ ।

यस पर्वको अवसरमा सप्तरीको राजविराज स्थित भगवती मन्दिर, राजदेवी मन्दिर लगायत सप्तरीका विभिन्न स्थानमा रहेका वरको रुख मुनि विहानै देखि महिलाहरुको भब्य उपस्थिती देखिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस