जनकपुरधाम, ७ असार । गत साताको अविरल वर्षा र बाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइन अवरुद्ध हुँदा करिब १० अर्ब रुपियाँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ ।
बाढीका कारण करिब डेढ दर्जन निजी र केही नेपाल विद्युत् प्राधिकरण मातहतका आयोजना प्रभावित भएका थिए । प्राधिकरण स्वामित्वका सबै आयोजना अहिले सुचारु रहे पनि निजी क्षेत्रका आयोजना सुचारु हुन सकेका छैनन् ।
अविरल वर्षा र बाढीका कारण मादी मस्र्याङ्दी र दोर्दी करिडोरमा रहेका आयोजनाहरू बढी प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको सङ्घ (इप्पान)का अनुसार डेढ दर्जन आयोजनाले प्रत्यक्ष क्षति बेहोरेका छन् ।
बन्दाबन्दी मौसमी प्रतिकूलताका कारण कतिपय आयोजना स्थलमा नै पुग्न सक्ने अवस्था नहुँदा वास्तविक क्षतिको विवरण लिन समस्या परेको इप्पानका अध्यक्ष कृष्ण आचार्यले जानकारी दिए ।बाढीले सञ्चालनमा रहेका आयोजनाका बाँध, विद्युत् गृहमा समेत क्षति पुगेका कारण त्यस्ता आयोजनाको विद्युत् उत्पादन नै ठप्प छ भने कतिपय प्रसारण लाइन टुट्दा विद्युत् उत्पादन नै स्थगित गर्नुपरेको छ ।
५० मेगावाटको माथिल्लो मस्र्याङ्दी, २५ मेगावाटको अपर मादी, १३ मेगावाटको सिम्ले र १२ मेगावाटको नागार्जुन जलविद्युत् अयोजनाबाट विद्युत् उत्पादन ठप्प भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यसबाहेक राष्ट्रिय प्रणालीमा नजोडिएका केही आयोजना पनि अहिले ठप्प छन् । गोरखापत्र दैनिकबाट