राजविराज, ९ असार । कोभिड–१९ संक्रमणको त्रासले अत्यावश्यक बाहेकका सेवा स्थगित हुन पुगेको जिल्ला प्रशासन कार्यालय सप्तरीमा आइतबार (असार १३ गते) बाट पुनः सेवा सुचारु हुने भएको छ । संक्रमण दर घटेसँगै कार्यालयले सूचना जारी गर्दै आइतबार सेवा प्रवाह हुने जनाएको छ ।
यद्यपी, संक्रमण अझै कायमै रहेकोले भीडभाड नहुने गरी नयाँ नागरिकता, प्रतिलिपी नागरिकता सम्बन्धी लगायतका सेवा प्रवाहमा संक्रमणबाट बच्न उच्च सतर्कता अपनाइएको छ । भीडभाड कम हुने सेवा प्रवाह गर्न एक दिनमा बढीमा ३ वटा स्थानीय तहका सेवाग्राहीलाई सेवा दिइने सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले बताए ।
जसअनुसार आइतवार शम्भुनाथ, सुरुङ्गा र डाक्नेश्वरी नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन् । यसैगरी सोमबार रुपनी र तिरहुत गाउँपालिका तथा खडक नगरपालिका, मंगलबार हनुमाननगर कंकालिनी नगरपालिका र महादेवा गाउँपालिका, बुधवार तिलाठी कोइलाडी र छिन्नमस्ता गाउँपालिका, विहिवार राजविराज नगरपालिका र राजगढ गाउँपालिका, शुक्रवार अग्निसाइर कृष्णासवरण र विष्णुपुर गाउँपालिकाका सेवाग्राहीले सेवा पाउने सूचनामा छ ।
सेवा लिन आउने सेवाग्राहीलाई कोभिड–१९ बाट बच्न सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरिएको छ ।