सरकारलाई खर्चको दबाब, दुई हप्तामा तीन खर्ब ८५ अर्ब खर्च गर्नुपर्ने

काठमाडौं, १३ असार । चालू आर्थिक वर्ष २०७७/७८ पूरा हुने समय अब तीन हप्ता पनि बाँकी छैन । आर्थिक वर्ष पूरा हुँदै गर्दा सरकारलाई भने खर्चको दबाब छ । शनिबारदेखि गणना गर्दा २० दिनभित्र सरकारलाई पुग नपुग चार खर्ब खर्च गर्नुपर्ने चाप छ ।

सरकारको खर्च तथा आम्दानीको हरहिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार शुक्रबारसम्म सरकारले करिब नौ खर्ब ६० अर्ब खर्च गरेको छ । लक्ष्यअनुसार बाँकी २० दिनमा करिब तीन खर्ब ८५ अर्ब रुपियाँ सरकारले खर्च गर्नुपर्छ ।

मध्यावधि समीक्षाबाट सरकारले बजेटको आकार घटाएर १३ खर्ब ४४ अर्ब ६८ करोड रुपियाँ खर्च हुने संशोधित अनुमान गरेको थियो । त्यसअघि अघिल्लो जेठ १५ मा बजेट सार्वजनिक गर्दै चालू आवमा १४ खर्ब ७४ अर्ब ६४ करोड रुपियाँ खर्च गर्ने सरकारको घोषणा थियो ।

कार्यालयका अनुसार शुक्रबारसम्म चालूतर्फ सात खर्ब २९ अर्ब २२ करोड रुपियाँ खर्च भएको छ । त्यस्तै पुँजीगततर्फ एक खर्ब ५६ अर्ब ६५ करोड रुपियाँ खर्च भएको तथ्याङ्क छ । त्यस्तै वित्तीयतर्फ सरकारको खर्च करिब ७४ अर्ब रुपियाँ पुगेको छ । गोरखापत्र दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस