देशभरका ४९ अस्पतालबाट ज्येष्ठ नागरिकको निशुल्क तथा सहुलियतमा उपचार हुने

जनकपुरधाम । सरकाले देशभरका ४९ वटा अस्पतालबाट ६० वर्षमाथिका नागरिकको निशुल्क तथा सहुलियतमा स्वास्थ्य उपचार सेवा दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थिक वर्ष २०७८/०७९ का लागि जेरियाट्रिक स्वास्थ्य सेवा सञ्चालन मार्गदर्शन जारी गर्दै ४९ अस्पतालबाट निशुल्क तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको हो ।

यसअघि सरकारले २४ वटा अस्पतालबाट ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा प्रदान गर्दै आएकोमा २५ अस्पतालमा यो सेवा थप गर्न लागेको हो ।

जेरियाट्रिकमैत्री स्वास्थ्य सेवा थप गरिनेमा प्रदेश १ मा इलाम, संखुवासभा र सुनसरीमा गरी ३ वटा, प्रदेश २ को बारा, सिराहा, सर्लाही र महोत्तरीमा गरी ४ वटा, वाग्मती प्रदेशमा भक्तपुर, धादिङ, नुवाकोट, काठमाडौं र काभ्रेमा गरी ५ वटा, गण्डकी प्रदेशका गोरखा र म्याग्दीमा २ वटा, लुम्बिनीका नवलपरासी, बर्दिया, प्युठान,पाल्पा, रोल्पा र दाङमा गरी ६ वटा, कर्णली प्रदेशको जाजरकोट र सुर्खेतमा गरी २ वटा र सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, दार्चुला र कैलालीमा गरी ३ वटा अस्पताल छन् ।

यो सेवाअन्तरगत निम्न उमेर समूहका नागरिकले निशुल्क तथा सहुलियतमा स्वास्थ्य सेवा पाउनेछन् ।

–६० देखि ६९ उमेरका नागरिकलाई निश्चित उपचार सम्बन्धित अस्पतालले तोकेको स्वास्थ्य सेवामा ५० प्रतिशत छुट,

–७० देखि ७९ वर्षका नागरिकलाई शारीरिक अशक्तता,दीर्घरोग र आर्थिक स्थितिका आधारमा सम्बन्धित अस्पतालले तोकेको उपचार सेवामा ७५ प्रतिशत छुट,

–८० देखि ८४ उमेरका नागरिकलाई सम्बन्धित अस्पतालले तोकेको उपचारमा शत प्रतिशत छुट,

–८५ बर्षमाथिका नागरिकलाई अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवाहरू निशुल्क ।

यो सेवा प्रयोग गरिरहँदा व्यक्तिले प्राइभेट वार्ड अथवा क्याबिनमा बसी उपचार गर्न चाहेमा  सो सेवा प्रयोग गरेवापत्को शुल्क भने छुट नहुने मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस