कोरोना संक्रमण बढ्यो, सतर्कता अपनाऔँ : मोरङ प्रशासन

बिराटनगर । मोरङमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दिनप्रतिदिन संक्रमण बढ्दो अवस्थामा रहेको भन्दै प्रशासनले सतर्कता अपनाउन र सचेत रहन सबैमा अपिल गरेको छ । मोरङ प्रशासनले निषेधाज्ञाको अवधि कम गरिएको भएपनि कोरोना संक्रमण पूर्ण रूपमा नियन्त्रणमा नआएको र पछिल्लो समय बढ्न थालेको जनाउँदै सचेत हुन सबैमा अनुरोध गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाद्धारा आइतबार जारी सार्वजनिक अपिलमा जनस्वास्थ्य मापदण्ड उल्लंघन र भीडभाडका कारण संक्रमण दर बढ्न थालेको उल्लेख छ । निरौलाले खोप लगाउने कार्य सम्पन्न नभएसम्म सतर्कता अपनाउनुको विकल्प नभएको जनाएका छन् ।

अनावश्यक भीडभाडका साथ जुलुस, नाराबाजी, सेमिनार नगर्न तथा होटल, पार्टी, विवाह, ब्रतबन्ध, सामाजिक कार्यमा स्वास्थ्य मापदण्डको पालना गर्नुपर्नेमा प्रजिअ निरौलाको जोड छ । संख्यात्मक हिसाबले कार्यक्रममा हुने उपस्थिति एवं कोरोनाको बेवास्था गरेर भइरहेको गम्भीर लापरबाहीलाई ध्यान नदिए अवस्था भयावह बन्नसक्ने प्रशासनको चेतावनी छ ।

प्रशासनले दिएको जानकारी अनुसार आइतबारसम्ममा मोरङमा सक्रिय संक्रमितको संख्या २ हजार ४ सय पुगेको छ । साथै प्रशासनले निषेधाज्ञाको पालना गर्न पनि सबैमा अनुरोध गरेको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि केही स्थानीय तहले लकडाउनको तयारी गरेका छन् । विशेष गरेर मोरङको उत्तरी क्षेत्रमा संक्रमण दर बढ्दो अवस्थामा रहेको प्रशासनले जनाएको छ । संक्रमणले अवस्था भयावह बनाएर निषेधाज्ञामा थप कडाइ वा लकडाउन गर्नुपर्ने अवस्था आउनुभन्दा पनि बेलैमा सावधानी अपनाएर सतर्क रहन प्रशासनले सबैमा अनुरोध गरेको हो ।

प्रशासन कार्यालयले दिएको जानकारी अनुसार मोरङमा हालसम्म २० हजार ९ सय ३५ जनामा संक्रमण यकिन भइसकेको छ । १५ हजार ५ सय ९० जना संक्रमणमुक्त भइसकेका छन् । ३ सय ८७ जनाको मृत्यु कोरोनाका कारण भइसकेको प्रशासनले जनाएको छ ।

मोरङमा सबैभन्दा बढी प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकाभित्र १ सय ५९ जना संक्रमितको मृत्यु भइसकेको छ । विराटनगर कोरोनाका कारण प्रदेशमै सबैभन्दा बढी प्रभावित बनेको स्थानीय तह हो । प्रशासनका अनुसार महानगरभित्र हालसम्म ११ हजार ९ सय ६० जनामा संक्रमण पुष्टि भइसकेको छ । विराटनगरमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएकामध्ये ९ हजार १ सय ७१ जना कोरोनामुक्त भइसकेको प्रजिअ निरौलाले जानकारी दिए ।

उनका अनुसार मोरङका १७ स्थानीय तहमध्ये सबैभन्दा कम धनपालथान गाउँपालिकामा २ जना संक्रमितको मृत्यु भएको छ । धनपालथानमा ९८ जनामा कोरोना यकिन भएको र ८५ जना उपचारपछि निको भएर सामान्य जीवनमा फर्किएको निरौलाको भनाइ छ ।

दोस्रो भेरियन्टले अवस्था जर्जर बनाएपछि मोरङ प्रशासनले गत वैशाख १८ गतेबाट निषेधाज्ञाको निर्णय लिएको थियो । बीचबीचमा थप गरेर अवधि बढाउँदै लगेको प्रशासनले पछिल्लो समय भने निक्कै खुकुलो प्रावधानसहितको निषेधाज्ञा लगाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस