अख्तियार विरुद्ध जसपाको प्रदर्शन, संघीयता समाप्त गर्ने षड्यन्त्र भइरहेको आरोप

राजविराज, १७ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मारेको छापा विरुद्ध आइतवार राजविराजमा प्रदर्शन गरेको छ । आयोगले छापामार शैलीमा छापा मारेको भन्दै जसपाआवद्ध नेता÷कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।

जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको नेतृत्वमा स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको र्यालीका सहभागीहरुले आयोग विरुद्ध नाराबाजी गर्दै नगरपरिक्रमा गरेका छन् । ‘छापामार शैली चाहिदैन’, ‘संघीयता मास्न पाईदैन’, ‘सुशासनकालागि दुशासन शैली मुर्दावाद’, ‘अख्तियारको भ्रष्टिकरण बन्द गर’ लगायतका प्लेकार्ड सहित प्रदर्शन गरिएको छ ।

प्रदर्शनपछि नेता चौकमा आयोजनना गरिएको कोण सभाका नेताहरुले अयोगको कार्यशैलीले संघीयता नै धराप पर्ने खतरा बढेको भन्दै जनताको बलिदानीबाट प्राप्त उपलब्धीको रक्षाकालागि तयार रहन कार्यकर्ताहरुलाई आग्रह गरे । संघीयताको पहरेदार प्रदेश २ सरकारमाथि राज्यको निकायले हस्तक्षेप गर्न खोज्नु संघीयता समाप्त गर्ने षड्यन्त्र रहेको नेताहरुको कथन छ ।

अध्यक्ष यादवकै अध्यक्षतामा आयोजित कोणसभामा केन्द्रिय सदस्य अशोक यादव, तराई मधेस प्रदेश समितिका मुख्य सचिव शम्भु झा, बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइत लगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन भने विद्यार्थी यूनियन प्रदेश २ का उपाध्यक्ष तारकेश्वर यादवले गरेका थिए ।

उता, जनकपुरमा पनि जसपाका नेता/कार्यकर्ताहरुले आयोग विरुद्ध विरोध प्रदर्शन गरेका हुन् । गत बुधवार आयोगको बर्दिबासस्थित कार्यालयबाट मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा छापा मारेको थियो भने आयोगका टोलीले सोही कार्यक्रमको कागजात समेत नियन्त्रणमा लिएको बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस