व्यवस्था परिवर्तनमा दनुवार समूदायको महत्वपूर्ण योगदान: न्यौपाने

राजविराज, १३ कार्तिक । प्रदेशसभा सदस्य गोविन्द बहादुर न्यौपानेले राज्यको नयाँ व्यवस्था परिवर्तनमा दनुवार समूदायको महत्वपूर्ण योगदान रहेको बताएका छन् । सप्तरीको कठौनामा शनिबार दनुवार जागरण समिति सप्तरीको चौथो अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक निर्माणमा दनुवार समूदायको ठूलो योगदान छ’ उनले भने–‘त्यसैले अधिकार सुनिश्चितताकालागि यो समूदायबाट पनि राजनितीमा सहभागीता बढाउनुपर्ने आवश्यक छ ।’ उनले दनुवार समूदायको राज्यबाट पाउने अधिकार र अवसरमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

दनुवार जागरण समितीका केन्द्रिय अध्यक्ष रुप नारायण सिंह दनुवारले अधिकार प्राप्तिकालागि एकजुट हुनुपर्नेमा जोड दिए ।

दनुवार जागरण समिति सप्तरीका अध्यक्ष राज नारायण सिंह दनुवारको अध्यक्षतामा आयोजित कार्यक्रममा सुरुङ्गा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरी, नेपाल आदिबासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, दनुवार जागरण समितिका महासचिव ज्ञानेन्द्र राय दनुवार, आदिबासी जनजाति युवा महासंघ प्रदेश २ का अध्यक्ष जितेन्द्र सिंह दनुवार, राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ सप्तरीका उपाध्यक्ष हिरा सिंह दनुवार लगायतका शुभकामना मनतव्य व्यक्त गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस