बिहे गर्छु भन्दै १९ वर्षीया युवतीसँग जबर्जस्ती

जनकपुरधाम । जबर्जस्ती करणी गरेको र जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । प्रहरीले जबर्जस्ती करणी गरेको आरोपमा बाराको कलैया उपमहानगरपालिका–२१ बस्ने ३८ वर्षीय जाहिर अन्सारीलाई पक्राउ गरेको हो।

पक्राउ परेका अन्सारीले उच्च शिक्षाका लागि वीरगञ्जमा डेरा लिई बस्दै आएकी १९ वर्षीया युवतीलाई विकास यादव भनी परिचय ढाँटी आफू अविवाहित रहेको भनी झुक्याई प्रेम सम्बन्ध गाँसेका थिए।

युवतीलाई बिहे गर्ने प्रलोभन देखाई अन्सारीले ती युवतीलाई २ वर्षदेखि वीरगञ्ज नगरका विभिन्न स्थानमा पटकपटक करणी गरेको प्रहरीले जनाएको छ।

उनले जबर्जस्ती करणी गर्ने क्रममा युवतीको अश्लील फोटो र भिडियोसमेत बनाएका थिए।

पीडित युवतीले दिएको जाहेरीका आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–८ बाट अन्सारीलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

यसैगरी किशोरीलाई जबर्जस्ती करणी उद्योग गर्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–२१ बस्ने २० वर्षीय बिकर ठाकुर हजाम र २५ वर्षीय अनिल महतो कोइरी छन्।

पक्राउ परेका दुबै जना युवकले १६ वर्षीया किशोरीलाई ट्युसन पढ्न जाने क्रममा बाटो ढुकी नियन्त्रणमा लिएर जबर्जस्ती करणीको प्रयास गरेका थिए।

उनीहरूले बालिकालाई फोटो स्टुडियोभित्र लगी आवाज बाहिर नसुनियोस् भनी ठूलो आवाजमा गीत घन्काई भित्रबाट चुकुल लगाई पीडितको लुगा खोली जबर्जस्ती करणी गर्न लाग्दा प्रत्यक्षदर्शीले देखेपछि बालिकाको अभिभावकले उद्धार गरेका थिए।

बालिकाका अभिभावकले दिएको उजुरीका आधारमा दुबै युवकलाई पक्राउ गरी जबर्जस्ती करणी उद्योग कसूरमा अदालतबाट सात दिनको म्याद थप गराई कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस