सबै संस्थागत विद्यालयमा एकैखाले पाठ्यपुस्तक लागू गरिँदै

राजविराज, २ मंसिर । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले आफ्ना मातहतका सबै संस्थागत विद्यालयहरुमा एकै खालको पाठ्यपुस्तक लागू गर्ने भएको छ । गाउँपालिकाको शिक्षा शाखाका प्रमुख राजेश कुमार झाको अध्यक्षतामा बुधबार बसेको संस्थागत विद्यालयहरुको बैठकले सो निर्णय भएको हो ।

निर्णयसँगै संस्थागत विद्यालयहरुले आगामी शैक्षिक सत्रदेखि आफू खुशी पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने भएको छ भने संस्थागत विद्यालयहरुले विद्यार्थीहरुबाट लिने शुल्कमा एकरुपता कायम हुने र विभिन्न परीक्षाहरु समेत एकै मितिमा सञ्चालन हुने भएको छ ।

संस्थागत विद्यालयहरुले लिने शुल्कमा विभिन्नता भएकोले अभिभावकले ब्यहोर्न सक्ने र विद्यालय समेत मारमा नपर्ने गरी शुल्क निर्धारण गर्नका लागि शिक्षा शाखा प्रमुखको संयोजकत्वमा एउटा समिति समेत गठन गरिएको शिक्षा शाखा प्रमुख राजेश कुमार झाले जानकारी दिए ।

उनका अनुसार समितिले सबै विद्यालयमा एकरुपता कायम गर्न नर्सरीदेखि कक्षा १० सम्मको पाठ्यपुस्तक सम्बन्धमा अध्ययन गरी सूची तयार गर्ने र त्यसमाथि वृहत छलफल गरी निर्णय गरिनेछ । संस्थागत विद्यालयहरुले आफूखुशी प्रायःजसो सबै बर्ष कुनै न कुनै पाठ्यपुस्तक परिवर्तन गर्दै आएका कारण विद्यार्थी मारमा पर्ने गरेकाले सो निर्णय गरिएको शिक्षा शाखा प्रमुख झाको कथन छ ।

Author:



क्याटोगरी छान्‍नुहोस