गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट, अध्यक्षको दाँत भाचियो

राजविराज, २१ मंसिर। सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष सुर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच मंगलवार कुटाकुट भएको छ ।

कुटाकुटको क्रममा अध्यक्ष मण्डलको दुई वटा दाँत भाचिएको छ भने उपाध्यक्षको पनि हातमा चोट लागेको बताइएको छ । दिउँसो ३ बजेतिर कार्यपालिकाको बैठकमा गहुँको विउ वितरण गर्ने विषयमा छलफल भइरहेको बेला विवाद भएको थियो । सोही क्रममा अध्यक्ष र उपाध्यक्षबीच घम्साघम्सी भएको वडा नम्वर ३ का अध्यक्ष दिपेन्द्र प्रसाद यादवले जानकारी दिए ।

‘म पनि बैठकमा सहभागी थिए, समान्य छलफल नै भइरहेको थियो । सोही क्रममा एक्कासी अध्यक्ष र उपाध्यक्षबीच मिनटमै मुकामुकी नै हुन थाल्यो’ उनले भने–‘पछि हामीले थाहा पाए की अध्यक्ष ज्यूको दुई वटा दाँत नै भाचिएको छ ।’

उपाध्यक्ष मण्डलले गहुँको विउ वितरण गर्ने विषयमा छलफल भइरहेकै बेला नजिक आएर अपशब्द प्रयोग गर्न थालेपछि कुर्सी उठाएको स्वीकार गरिन । ‘अध्यक्ष ज्यूले अपशब्द प्रयोग गर्न थालेपछि मैले प्रतिवाद गरे र सोही क्रममा मैले कुर्सी पनि उठाए’ उनले भनिन–‘तर मलाई थाहा थएन उहाँको दाँत भाचियो भनेर ।’

उता, सो घटनाबारे अध्यक्षलाई वुझ्न खोज्दा फोन उठेन् । यता, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले अध्यक्ष र उपाध्यक्ष घम्साघम्सी भएको कुरा आइरहेको बताए । ‘घटनापछि उहाँहरु आ–आफ्नो घरतिर लाग्यो भन्ने कुरा जानकारी आयो । यद्यपी, उहाँहरुबाट प्रहरीमा कुनै जानकारी गराउनुभएको छैन्’, उनले मधेशलाइभलाई भने ।

Author:



क्याटोगरी छान्‍नुहोस