आमाको मृत्युसँगै जुम्ल्याहा बच्चाको विचल्ली

सप्तरी, २१ मंसिर। सप्तरीमा एक आमाको मृत्यु भएपछि जुम्ल्याहा बच्चाको विचल्ली भएको छ । खडक नगरपालिका–३ गरुराहाकी ३० वर्षीया अनिता कुमारी रामको गत शुक्रवार मृत्यु भएको हो ।

गर्भास्थामा अनिताले नियमित चेकजाँच गराउँदै आएका थिए । सोही क्रममा चिकित्सकले जुम्ल्याहा बच्चा रहेको जानकारी गराएका थिए । गत भदौ १७ गते राति अचानक पेट दुखेपछि अनितालाई रातारात एम्बुलेन्समा धरान अस्पतालमा पुर्याइएको थियो ।

चिकित्सककै सल्लाहअनुसार अनितालाई २५ दिनसम्म अस्पतालमै राखियो । गत असोज १० गते अप्रेसन गरेर अनिताले सकुशल बच्चाको जन्म दिइन् । अप्रेसनपछि अनितलाई थप १ महिना अस्पतालमै राख्नु परेको परिवारजनले बताए ।

बच्चा र आमाको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि अनितलाई अस्पतालबाट डिस्चार्ज गरियो । उनी एक महिनासम्म घरमै बस्दै आएकी थिइन् । सोही क्रममा गत शुक्रवार राति अनिता एकासी ढलिन । एम्बुलेन्समा अस्पताल लग्दै गर्दा अनिताको बाटोमै मृत्यु भएको अनिताका पति घुरन रामले बताए ।

अहिले दुवै बच्चालाई सेहार्न कठिन भएको उनले मधेशलाइभसँग दुखेसो गरे । ‘जग्गा जमिनको नाममा केही छैन् हजुर, घरमा रहेको केही पैसाकासाथै छिमेकीहरुसँग लिएको सरसापटी पनि उपचारकै विलमा सकियो’ उनले भने–‘अहिले बच्चालाई दुध खुवाउन पनि पैसा छैन् ।’

उनले सहयोगका लागि सवैसँग गुहार समेत गरे । यसैबीच, जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुले ती परिवारको अवस्थाबारे जानकारी दिएका छन् भने केही आर्थिक सहयोग समेत गरेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस