प्रदेश २ स्तरिय महिला क्रिकेटः बारा र सर्लाहीको जित

राजविराज । प्रधानमन्त्री कप प्रदेशस्तरिय टि–ट्वान्टी महिला सिनियर छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत बुधवार भएको दुई वटा खेलमा बारा र सर्लाहीले जित हात पारेको छ ।

पहिलो खेलमा बाराले सिरहालाई ७ विकेटले पराजित गरेको छ भने सर्लाहीले सप्तरीलाई ९ विकेट हराएको छ । राजविराजस्थित राजरंगशालाको खेल मैदानमा भएको पहिलो खेलमा टस जितेर बाराले निर्धारित २० ओभरमा ४ विकेट गुमाई ९३ रनको योगफल खडा गरे । जसमा प्रतिमा साहले ३३ र साना प्रविणले २० रन जोडिन् ।

बलिङतर्फ सिरहाकी अनुराधा चौधरीले २ र चन्द्रिका साहले १ विकेट हात पारिन् । प्रतिउत्तरमा सिरहाले १३ दशमलव ४ ओभरमा १० विकेट गुमाएर ८६ रनमै समेटियो । जसमा आरती चौधरीले १५ र सरस्वती चौधरीले १२ रन जोडिन् ।

बलिङतर्फ बाराकी प्रियंका गुप्ता ३, साना प्रविण र मधु राउत २/२ तथा प्रतिमा साहले १ विकेट लिइन । सो खेलमा बाराकी प्रतिमा साह म्यान अफ दि म्याच घोषित भइन ।

त्यसैगरी दोस्रो खेलमा टस जितेर सप्तरीले ९ ओभर खेल्दै सबै विकेट गुमाएर ३९ रनको योगफल खडा गरे । जसमा कुनै पनि खेलाडीले दोहोरो अंक पार गर्न सकेन ।

बलिङतर्फ सर्लाहीका तुलसी विश्वकर्माले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि सप्तरी सस्तोमै समेटियो । खेलको म्यान अफ दि म्याच सर्लाहीकी तुलसी विश्वकर्मा भइन । उनलाई प्रदेश २ का खेलाडी छनोट समिति संयोजक मरतुजा हवारीले कप र बल प्रदान गरे ।

आज (विहिवार)को पहिलो सप्तरी र महोतरी तथा दोस्रो खेल सर्लाही र सिरहाबीच हुने सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादवले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस